क्याम्पस प्रमुखले नै अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचनमा धाँधली गरेको आरोप – Nepal Press

क्याम्पस प्रमुखले नै अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचनमा धाँधली गरेको आरोप

काठमाडौं । क्याम्पस प्रमुख नै त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन निर्देशिका विपरितका क्रियाकलापमा उत्रिएपछि अमृत साइन्स क्याम्पसमा विवाद बढेको छ ।

क्याम्पस प्रमुख लोक बरालले अदालतको आदेशविपरित प्रधानमन्त्रीको आदेशमा चुनाव पटकपटक रोक्दै शुक्रबार अर्को सूचनामार्फत निर्देशिकाविपरीत गतिविधि गरेको आरोप अनेरास्ववियुले लगाएको छ ।

चैत ५ गते सत्ता पक्षीय विद्यार्थीहरुको तालाबन्दीका कारण रोकिएको स्ववियु निर्वाचन उच्च अदालतको आदेशपछि चैत २४ गते तोकिएको थियो । तर क्याम्पस प्रमुख बरालले माओवादी नेतृत्वको निर्देशनपछि चुनाव रोकेको आरोप अनेरास्ववियुले लगाएको छ ।

चैत २४ मा रोकिएको चुनाव ३० गते हुने भनिएकोमा क्याम्पस प्रमुखले सूचना टाँसेर वैशाख ३ गतेलाई सारेका थिए । यसबीचमा निर्वाचन समितिले शुक्रबार विद्यार्थी संगठनहरुको उम्मेदवारी हेरफेर र प्यानल मिलाउन ४ बजेसम्मको समय दिएपछि विवाद बढेको हो ।

मतदानबाहेकका सबै प्रक्रिया सकिएपछि सत्तापक्षीय विद्यार्थी संगठनहरुलाई गठबन्धन गर्नका लागि मौका दिने उद्देश्यले मात्र यस्तो सूचना जारी गरिएको हो ।

पटक पटक निर्वाचन स्थगन गरिनुको पछाडि एमालेनिकट अनेरास्वविुले जित्ने देखिएकाले अब अखिल क्रान्तिकारीलाई सभापति दिएर नेविसंघ लगायत सत्ता गठबन्धनले उम्मेदवारी फिर्ता लिनेगरी सो समय उपलब्ध गराइएको स्रोतले जनाएको छ ।

यसबारेमा प्रतिक्रिया लिन खोज्दा क्याम्पस प्रमुख बराल सम्पर्कमा आउन चाहेनन् । अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले आफूहरुका कारण निर्वाचन नरोकिएको बताए ।

महासचिव पुनले भने- वैशाख ३ गते बाँकी रहेको सबै क्याम्पसमा चुनाव गर्ने भनिएको थियो । तर संगठनका अध्यक्षहरुको वक्तव्य आउन सकेन । अमृत क्याम्पसको सूचना संगठनहरुको आन्तरिक लिस्ट मिलाउँनका लागि हो,त्यसले केही गर्दैन ।
यता अनेरास्ववियुले भने क्याम्पस प्रमुख सत्ता गठबन्धनको मतियार बनेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ ।

 

 

प्रतिक्रिया

One thought on “क्याम्पस प्रमुखले नै अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचनमा धाँधली गरेको आरोप

  1. यो गठबन्धन भनेको दिल्लीको दलाली गर्न बनेको हो । देश बेचिदिन्छन यी लुटेराहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर