ए डिभिजन लिगः मनाङको अपराजित यात्रालाई ब्रेक लगाउँदै शीर्ष स्थानमा उक्लियो सातदोबाटो – Nepal Press

ए डिभिजन लिगः मनाङको अपराजित यात्रालाई ब्रेक लगाउँदै शीर्ष स्थानमा उक्लियो सातदोबाटो

काठमाडौं । दीपकराज सिंह ठकुरीको निर्णयक गोल प्रेरित मनाङ मर्स्याङदी क्लबलाई १-० गोलमा पराजित गर्दै सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । यससँगै मनाङको अपराजित यात्रा लिगको आठौं चरणमा आएर ब्रेक लागेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलको ४०औं मिनेटमा दीपकले गरेको गोल सातदोबाटोको जीतका लागि पर्याप्त बन्यो । निरज चौधरीको क्रसमा दीपकले उत्कृष्ट रन बनाएर करिब १८ यार्ड बाट गरेको प्रहारमा मनाङका गोलकिपर दीप कार्की निरीह बनेका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सातदोबाटोले दोस्रो हाफमा पनि मनाङमाथि निरन्तर दबाब बनाएको थियो । अपराजित मनाङले सातदोबाटोविरुद्ध गोल गर्ने कुनै पनि स्पस्ट मौका बनाउन सकेन ।

जीतसँगै सातदोबाटो ८ खेलमा ५ जीत, २ हार र एक बराबरीको नतिजासहित १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित मनाङ ४ जीत, ३ बराबरी र १ हारको नतिजासहित १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । तालिकाको तेस्रो स्थानमा १४ अंकसहित जावलाखेल युथ क्लब रहेको छ ।

यस्तै आजै च्यासल रंगशालामा सम्पन्न खेलमा एपीएफ क्लबलाई ५-३ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब तालिकाको १०औं स्थानमा उक्लिएको छ । पराजित एपीएफ ८ खेलमा ११ अंकसहित ८औं स्थानमा छ ।

शेर्पाको जीतमा सत्यम शर्माले दुई गोल, सुदीप श्रेष्ठ, अबयुमी फाकुन्ले र विश्वास श्रेष्ठले एक–एक गोल गरे । एपीएफको अर्मान्ड बियडम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक–एक गोल फर्काएका थिए ।

दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा संकटा क्लबले न्यूरोड टीम (एनआरटी) लाई २-१ गोलमा पराजित गरेको छ ।

संकटाको जीतमा जुनियर र मनिष डाँगीले गोल गरे । एनआरटीका सर्ज सङले एक गोल फर्काएका थिए । जीतसँगै संकटा ८ खेलमा तीन जीत, तीन बराबरी र २ हारको नतिजासहित १२ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित एनआरटी ८ खेलमा एक जीत, ३ बराबरी र ४ हारको नतिजासहित १२औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर