देशका ९ प्रतिस्पर्धी जुत्ता उद्योगः बुटवलमा एकै छानमुनि नेपाली जुत्ताघर चलाउने तयारीमा – Nepal Press

देशका ९ प्रतिस्पर्धी जुत्ता उद्योगः बुटवलमा एकै छानमुनि नेपाली जुत्ताघर चलाउने तयारीमा

रुपन्देही ।नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआसपमा प्रतिस्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढेका छन् । नेपाली जुत्ता उद्योगको बजार केही समययता कमजोर बनेपछि उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीति बनाएका हुन् ।

पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ताबीच सहज ढंगले पुर्‍याउन ९ यस्ता उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर संचालनमा ल्याउन थालेका हुन् । बुटवलको डेल्टामार्टमा वैशाख १ गतेदेखि साझा विक्री कक्षका रुपमा ‘नेपाली जुत्ताघर’ सञ्चालनमा ल्याउनेगरी सबै तयारी सकिएको छ ।

स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी गराए ।

उनी रन सुजका प्रबन्धक हुन् । जुत्ता उत्पादनमा लामो अनुभव संगालेका न्यौपानेले भने– सबैतिर प्रतिस्पर्धा छ, तर हामी सहकार्यका लागि तयार भएर एकै छानामुनि बस्न तयार भएका हौं, यसको एउटै उद्देश्य हो, केही समययता खस्कन थालेको नेपाली जुत्ताको उपभोक्ता सचेतना बढाउने नै हो ।

नयाँ वर्षको अवसरमा पारी बुटवलको मिलनचोकस्थित डेल्डा मार्टको पहिलो फ्लोरमा सञ्चालन हुने जुत्ता घर बारेमा जानकारी दिँदै न्यौपानेले विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी नेपाली उत्पादनको प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।

जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए ।

सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधीभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज इण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बि एफ डियर हिल, लालिगुरास फुटवेयरको कस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरिष्ट ब्राण्डका उत्पादन उपलब्ध रहने छन् ।

नेपालका उत्पादनबारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । बुटवलमा सञ्चालनमा ल्याइएको जुत्ताघर सफल भएमा देशका अन्य शहरमा पनि शाखा विस्तार गर्ने लक्ष्यमा रहेको उनले बताए ।

नेपालमा हाल १५ सय फुटवेयर उद्योगहरु रहेका छन् जसमा अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष सुरज बन्जाडेले बताए । यसबाहेक घरेलुरुपमा उत्पादन गर्ने साना पसलहरु यसमा समावेश भएका छैनन् । यस क्षेत्रमा ४० अर्ब बढी लगानी हुनुका साथै हजारौंले प्रत्येक्ष रोजगार प्राप्त गरिरहेको उनले बताए ।

फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बिगतमा ७० देखि ७५ प्रतिशतसम्म नेपाली उत्पादनले थेगेको जुत्ताको बजार अहिले केही कम भएको छ । देशभरको अनौपचारिक तथ्यांकलाई आधार मान्दा अहिले करिब ६० प्रतिशत हाराहारीमा नेपाली उत्पादनले थेगेको र अब यसलाई क्रमशः बढाउनुपर्ने बताए ।

कोरोना महामारीले हामीलाई केही प्रभावित बनायो, अहिले पनि यो उद्योगलाई चाहिने सानासाना सामग्रीहरु बाहिरबाट ल्याउनुपर्ने छ, जुन यहाँ उत्पादन गर्न सकिन्छ, अहिले बाहिरबाट ट्याग हानेर यहाँ जुत्ता आउने अवस्था छैन तर छिमेकी देशबाट चोरीप्रठारी भएर कमशस गुणस्तरहीन जुत्ता आउन रोकिएको छैन त्यसको मार हामीले खेपेका छौं– उनले भने ।

कोभिड महामारीले थला पारेको नेपाली बजार, रसिया–युक्रेन युद्धका कारण कच्चा सामग्रीको बढेको लागत, बैंकको ब्याजदर एकल अंकबाट १७ प्रतिशतसम्म पुगेको अवस्था, बिनाभन्न्सार दक्षिणी नाकाबाट कमशल तर उस्तै मोडलका सामान बजारमा आउनु, दक्ष श्रमशक्तिको अभाव, वित्तीय क्षेत्रमा बढेको तरलता मुख्य समस्या रहेको उद्योगीहरुको भनाइ छ । उपाध्यक्ष न्यौपानेका अनुसार बुटवलमा यसको पहिलो परीक्षणका रुपमा रोजेको र यसको प्रतिफल हेरेर अन्य क्षेत्रमा बिस्तार गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *