‘एमालेमा फर्किन्न, तर दक्षिणपन्थी भड्काउ त्यागे सहकार्य हुनसक्छ’ – Nepal Press
नेपाल टक

‘एमालेमा फर्किन्न, तर दक्षिणपन्थी भड्काउ त्यागे सहकार्य हुनसक्छ’

झलनाथ खनाल भन्छन्- यो गठबन्धनको आयु छैन, सरकारबाट अपेक्षा गर्न पनि सकिँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेता मुकुन्द न्यौपालेले शनिबार पत्रकार सम्मेलन गरेर एमालेमै फर्किने घोषणा गरे । पार्टी निर्णयमा फरक मत राख्दै आएका न्यौपानेले आफूहरुमात्रै नभएर अन्य नेताहरु पनि एमालेमै फर्किने जिकिर गरे । उनले सम्मानित नेता झलनाथ खनालसमेत पार्टी छाड्न तयार रहेको बताएपछि पार्टीभित्र र बाहिर तरङ्ग पैदा भएको छ ।

नेकपा एसको भविष्य नरहेको भन्दै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको उनको दाबी थियो । पार्टी छाड्दै उनले सम्मानित नेता झलनाथ खनाल पनि सन्तुष्ट नभएको कारणले एमालेमा फर्किने दाबी गरेका थिए ।

नेता न्यौपानेको दाबी, पार्टीभित्र देखिएको असन्तुष्टि, अहिलेको सत्ता गठबन्धनको भविष्य, समाजवादी मोर्चा गठनको विषयमा केन्द्रित रहेर सम्मानित नेता झलनाथ खनालसँग नेपाल प्रेसकर्मी रमेश पराजुलीले गरेको कुराकानीः

– पछिल्लो समय पार्टीमा असन्तुष्टि बढेको हो र शीर्ष नेताहरु एकपछि अर्को गर्दै अलग हुन थाल्नुभयो ?

पार्टीमा बस्ने नबस्ने आ-आफ्नो इच्छाको कुरा हो । बस्न मन लाग्नेहरु बस्छन् । नलाग्नेहरु बाहिरिएका छन् । पार्टीभित्र आफूलाई मन पर्दोखालको वातावरण भयो भने न बस्ने हो । नत्र कोही पनि बस्दैन । तर, बाहिर तपाईंहरुले भने जस्तो पार्टीमा कुनै विवाद छैन । बैठकमा सामान्य छलफल र बहस हुनु स्वाभाविक हो ।

म एमालेको नेतृत्वसँग विद्रोह गरेर आएको मान्छे हुँ । त्यो विद्रोह गर्दा जेजे कारणहरु थिए । ती कारणहरु सच्चिए भने, एमालेको नेतृत्वले दक्षिणपन्थी भड्काउलाई सच्चायो भने भिन्दै कुरा हो ।

– मुकुन्द न्यौपानेले पार्टी छाड्दैगर्दा तपाईं पनि एमालेमा फर्किंदै हुनुहुन्छ भनेर घोषणा गर्नुभयो नि ?

होइन, त्यो गलत कुरा हो । त्यसमा कुनै सत्यता छैन । म एमालेको नेतृत्वसँग विद्रोह गरेर आएको मान्छे हुँ । त्यो विद्रोह गर्दा जेजे कारणहरु थिए । ती कारणहरु सच्चिए भने, एमालेको नेतृत्वले दक्षिणपन्थी भड्काउलाई सच्चायो भने भिन्दै कुरा हो । तर, त्यो भड्काउ रहँदारहँदै फेरि एमालेमा फर्किने भन्ने कुरा कुनै कल्पना गर्न सकिँदैन ।

– तपाईंले एमालेसहितको वामपन्थी एकताको कुरा उठाउँदा पार्टीमा मतभेद भएको हो ?

म सुरुदेखि नै वामपन्थी एकताको पक्षमा छु । वामपन्थीहरु एकताबद्ध नभइकन न यो मुलुक बचाउन सकिन्छ न त यो मुलुकमा आमूल परिवर्तन गर्न सकिन्छ । वामपन्थीहरु नमिलेसम्म मुलुकलाई समाजवादतर्फ पनि लान सकिँदैन । त्यसैले वामपन्थीहरुको एकता आजको अपरिहार्य आवश्यकता हो ।

– भनेपछि एमालेसँग तत्काल मिल्न नसक्नुको कारण चाहिँ नेतृत्व नै हो ?

विभिन्नखाले दक्षिणपन्थी भड्काउ भए पनि एमाले वामपन्थी पार्टी हो । वामपन्थीहरुका बीचमा एकता गर्न नसक्ने, एकता कुनै पनि हालतमा गर्न हुँदैन भन्ने मलाई लाग्दैन ।

– माओवादी, जसपासहित अन्य दलसँग पनि एकताको लागि संवाद गर्न कार्यदल नै बनेको थियो । अहिले के हुँदैछ ?

अहिले कुनै दलसँग पनि पार्टी एकताको सम्भावना छैन । एकता हुन पार्टीको वैचारिक, राजनीतिक, कार्यदिशा, सिद्धान्त, लक्ष्य आदिमा एकता हुनुपर्छ । त्यही भएर अहिले कसैसँग पनि पार्टी एकता हुन सक्दैन । कार्यगत एकताको हकमा विभिन्न राजनीतिक दलका लागि पनि आवश्यकताअनुसार हुनसक्छन् ।

वामपन्थीहरु एकताबद्ध नभइकन न यो मुलुक बचाउन सकिन्छ न त यो मुलुकमा आमूल परिवर्तन गर्न सकिन्छ । वामपन्थीहरु नमिलेसम्म मुलुकलाई समाजवादतर्फ पनि लान सकिँदैन । त्यसैले वामपन्थीहरुको एकता आजको अपरिहार्य आवश्यकता हो ।

– कार्यगत एकतामात्रै नभएर अहिले माओवादी र जसपासहितको समाजवादी मोर्चा बनाउने चर्चा पनि छ नि ?

चर्चा त विभिन्न खालका कुरामा हुन्छन् । तर, कस्तो प्रक्रियाले साकार रुप लिन्छ भन्नेमा भरपर्छ । कुनै पनि मोर्चा भनेको खास लक्ष्य र उद्देश्यको निम्ति हुन्छ । कुनै अवरोध छ भने त्यसविरुद्ध लड्न मोर्चा गठन गर्ने गरिन्छ । तर, अहिले मोर्चा केका लागि गठन गर्ने भन्नेमा हाम्रो पार्टीमा कुनै छलफल भएको छैन । छलफलपछि निर्णय गरेरमात्रै त्योबारेमा के गर्ने भन्ने टुंगो लाग्छ ।

– अहिले दश दलीय गठबन्धनबाट सरकार गठन भएको छ । यो कहिलेसम्म जान्छ जस्तो लाग्छ ?

कुनै पनि गठबन्धनको आयु निश्चित छैन । योभन्दा अगाडि पनि तीनवटा गठबन्धन बने । अहिलेको गठबन्धनको पनि आयु निर्धारित छैन । अहिले पनि नेताहरुबीच सहमतिको आधारमा नै बनेको हो । तर पनि पहिलेको गठबन्धन जस्तै यसको पनि कुनै आयु देखेको छैन ।

– सरकार गठन भएको सय दिनसम्म पनि पूर्णता दिन नसक्नुलाई कसरी हेर्नुहुन्छ ?

यो सरकार आफैंमा खिचडी सरकार हो । अर्काे किसिमले भन्नुपर्दा भ्यागुतोको धार्नी जस्तै हो । अहिलेका गठबन्धन दलबीच सहमति भएर सरकारले अझै आकार लिन सकेको छैन । त्यसैले यो सरकारबाट जनता र राष्ट्रले धेरै कुराको अपेक्षा गर्न मिल्छ कि मिल्दैन भन्ने कुराको जवाफ सरकारको स्थितिले दिइहाल्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर