अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा छैन : डा. महत (भिडिओ) – Nepal Press

अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा छैन : डा. महत (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको समग्र अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

अल्पकालीनमा पूँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित रहेको उनले बताए ।

‘हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ । ऋण तिर्दिनँ भन्नु गलत हो’, अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्याराहरु सिर्जना भएका छन् । सरकार, अर्थ मन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएका छौं । समग्रमा निराश हुनुपर्ने कारण छैन ।’

बाह्य सञ्चित र विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।

‘यो परिवेशमा पनि ७ अंकभन्दा माथि आर्थिक वृद्धि छ । अन्तर्राष्ट्रिय परिस्थितिको आर्थिक विकास र रुपान्तरणको समस्या छ’, उनले भने, ‘उद्योग व्यवसायमा लगानीको समस्या छ । ती समस्यालाई हल गरेर एउटा सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न हामी सक्षम छौं भन्ने मलाई विश्वास छ ।’

साधारणतर्फ अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने बताउँदै अर्थमन्त्री महतले भने, ‘साधारण खर्चभित्र तलबभत्तामात्र छैन, सामाजिक दायित्वका कुरा छन् । शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताका कुरामा लगानीको कुरा छ । यी कुरा हटाउन सक्दैनौं ।’

साधारण खर्चलाई हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति अगाडि बढाएर राज्यको सेवा प्रवाह प्रभावकारी ढंगको बनाइने उनले बताए ।

‘सरकारभन्दा पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ । सरकारले मध्यस्थको भूमिका निर्वाह गर्छ, कानूनी अप्ठ्यारालाई हटाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने, वैदेशिक लगानी सहज बनाउने, प्रशासनिक झन्झट हटाउन सरकार तयार छ’, उनले भने, ‘विदेशमा रहेका नेपालीहरुको पूँजी, ज्ञान र दक्षताको उपयोग गर्ने, पूँजीगत खर्च अझ बढाएर लैजान सरकार क्रियाशील हुनेछ । निजी क्षेत्रलाई लगानीमा जुन समस्या छ, बजार मन्दीबाट गुज्रिरहेको छ, सटरहरु बन्द भइरहेका छन्, खुलेकाहरु पनि घाटामा चलिरहेका छन् । यसका केही कारण छन्, उद्योग व्यवसायीहरु यसबारे जानकार छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *