राज्यका प्रमुख पद र राजनीतिक दलको अध्यक्षमा महिला र पुरुष आलोपालो हुनुपर्ने अनेमसंघको प्रस्ताव – Nepal Press

राज्यका प्रमुख पद र राजनीतिक दलको अध्यक्षमा महिला र पुरुष आलोपालो हुनुपर्ने अनेमसंघको प्रस्ताव

काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघले सबै राजनीतिक दलका प्रमुख पदमा महिला र पुरुषबीच अलोपालो हुनुपर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा हालै सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सो प्रस्ताव पारित गरेको हो ।

सो सम्मेलनले राष्ट्रपति, उपराष्ट्रपतिलगायत राज्यका संवैधानिक पदहरुमा पनि महिला र पुरुष आलोपाले र एक पदमा अनिवार्य महिला हुनुपर्ने प्रस्ताव पारित गरेको छ ।

चैत २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनले सर्वसम्मतरूपमा २२५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । १० वर्षपछि भएको सम्मेलनले टुका भद्र हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

६ जना उपाध्यक्षहरूमा मेनका काफ्ले, मेनुका कुमारी पोखरेल, रुक्मणी राना, सुमित्रा बि.सी., डा. विमला राई पौड्याल र शर्मिला कार्की छन् ।

 महासचिवमा पेम्बा लामा र उपमहासचिवमा शान्ति बस्नेत (अधिकारी) चयन भएका छन् । सचिवहरु ७ जना छन्, जसमा विणादेवी राई, विनादेवी शाह, शारदा कुमाल, नरदेवी पुन, विना ज्ञवाली, आशाकुमारी विक र मिना सिंह रखाल र एकजना कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएका हुन् ।

अनेमसंघले ७७ वटै जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुने, हरेक प्रदेशबाट युवा, दलित, जनजाति, मधेसी, थारु लगायतको निश्चित कोटा निर्धारण गरेर केन्द्रीय कमिटी चयन गरेको महासचिव पेम्बा लामाले जानकारी दिइन् ।

नयाँ कार्यसमितिको शपथ ग्रहण सोमबार नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा गरिएको थियो ।

२०६९ वैशाख ८ देखि १० गतेसम्म पोखरामा छैटौं राष्ट्रिय सम्मेलन भएपछि १० वर्षपछि यसवर्ष सातौँ राष्ट्रिय सम्मेलन भएको हो । सम्मेलनमाविभिन्न कमिटी तथा सबै जिल्लाबाट गरी ११ सय ८७जना प्रतिनिधि सहभागी भएका थिए । सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट भएको थियो । सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायत देशका कम्युनिस्ट पार्टी तथा ती पार्टी सम्बद्ध महिला संगठनहरुका प्रतिनिधिहरु सहभागी भएका थिए भने अन्य विभिन्न देशबाट पनि शुभकामनासन्देश आएको थियो ।

सातौँ राष्ट्रिय सम्मेलनबाट १८ बुँदे समसामयिक प्रस्ताव (घोषणापत्र) पारित गरिएको छ ।

पारित भएका ती प्रस्तावहरु निम्नअनुसार छ :

अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन

समसामयिक प्रस्ताव

२६ चैत २०७९, काठमाडौं ।

अखिल नेपाल महिला संघ सम्पूर्ण प्रगतिशिल, देशभक्त र जनवादी महिलाहरुको साझा संगठन हो । आजहाम्रो गौरवशाली संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएकोछ । वि.सं. २०६९ वैशाख ८ देखि १० गतेसम्म पोखरामा छैटौं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएपछि सातौं राष्ट्रिय सम्मेलनसम्म आइपुग्न हामीलाई १० वर्ष प्रतिक्षा गर्नुपर्‍यो । हामी सबैको अथक प्रयास र क्रियाशीलताले दश वर्षपछि आज ऐतिहासिक रुपमा हामीले सातौं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न सफल भएकाछौं ।

वि.सं. २००८ सालमा अनेमसंघ स्थापना भएदेखिनै सामन्तवाद, साम्राज्यवाद, नवउदारवाद तथा पितृसत्तात्मक उत्पिडनका विरुद्धमा न्याय, समानता र समतामूलक समाज निर्माणका लागि अग्रमोर्चामा क्रियाशिल छ । तर अझै महिला आन्दोलनलाई निरन्तरता दिन र क्रियाशिल बनाइ राख्न संगठनलाई थप सुदृढ र संगठित गर्दै अगाडि बढउन आवश्यक छ । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ संगठनको मुलनाराका साथ यो सम्मेलन सम्पन्न भएको छ ।

चैत २५ गते नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनमा सार्क मुलुकका कम्युनिष्ट पार्टी तथा महिला संगठनका नेताहरु, नेपालका विभिन्न राजनीतिक दलसँग आबद्ध महिला संगठनका प्रतिनिधिहरु, महिला अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो । सम्मेलनमा अनेमसंघका ६० हजार कमिटीको प्रतिनिधित्व गर्दै ११ सय ८७ (एघार सय सतासी)जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको नेतृत्वमा महिलाको पहुँच पु¥याउने नीतिगत सुधार र भएका कानूनको कार्यान्वयन र त्यसका लागि सुदृढ संगठनको आवश्यक औंलाएको छ । त्यसैगरी स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहको ऐक्यवद्धताको आवश्यकता महशुस गर्दै सहकार्य गर्ने विषयलाई अगाडि सार्दै १८ बुँदे घोषणापत्र जारी गरेको छ ।

१. नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ । साथै विभिन्न आन्दोलनका घाइते, प्रभावित र शहिद परिवारहरुप्रति सम्मान व्यक्त गर्दै उहाँहरुको जीवनयापनलाई व्यवस्थित बनाउन सरकारसँग जोडदार माग गर्दछ ।

२. हालसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्दै राज्यको सम्पूर्ण संरचनामा समानुपातिक सहभागिताको लक्ष्य हासिल गर्ने, समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पुरा गर्न, न्यायपूर्ण समाज तथा महिलाहरुको मर्यादित र समृद्ध जीवनको सुनिश्चितताका लागि प्रतिबद्ध हुँदै कार्यान्वयनका लागि तीनै तहका सरकारसँग माग गर्दछ ।

३. देशको विभिन्न भागमा महिला माथि परिवार तथा समाजबाट भैरहेका विभिन्न किसिमका हिंसा, बलात्कार तथा हत्याका दोषी र मतियारहरुलाई कानुनी कार्वाही गर्न र पीडितलाई न्याय दिलाउँदै सम्मानपूर्वक जीवनयापनका लागि सरकारसँग जोडदार माग गर्दछ । साथै पार्टीका जनसंगठनहरु, राजनीतिक दलहरु तथा विभिन्न महिला संघ–संगठनहरुसँग लैंगिक हिंसा अन्त्यका लागि सहकार्य गर्न हार्दिक अपिल गर्दछ ।

४. राष्ट्रिय हितका लागि अविचलित अडान लिएर राष्ट्रियताको पक्षमा उभिएको पार्टी, नेकपा (एमाले) माथि भइरहेको निरन्तर आक्रमण र राष्ट्रिय एकता खल्बल्याउने प्रयास विरुद्ध गोलबद्ध हुँदै आमजन समुदायमा सन्देश पुर्‍याउन आह्वान गर्दछ ।

५. प्रदेश र संघीय संसदको निर्वाचन हुँदा प्रत्यक्ष निर्वाचन प्रणालीमा समेत महिलाका लागि एक तिहाइ निर्वाचन क्षेत्र सुनिश्चित गर्ने कानुन निर्माणका लागि राजनीतिक दलहरु, निर्वाचन आयोग र सरकारसँग जोडदार मागगर्दछ ।

६. संविधानको भावना अनुरुप राज्यका सबै संयन्त्रलाई समावेशी बनाउनका लागि संघीय र प्रदेशको मन्त्री परिषद, संवैधानिक अंगहरु र कुटनीतिक नियोगहरुमा कम्तीमा एकतिहाइ महिला सहभागिताको सुनिश्चिताका साथै राज्यका प्रमुख अंगहरुमा पनि अनिवार्य महिला हुने व्यवस्थाका गर्न जोडदार माग गर्दछ । (जस्तैः राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा स्थानीय तहको प्रमुख र उपप्रमुखमा अनिवार्य रुपमा एकजना महिला हुने कानुनी व्यवस्था गर्न जोडदार माग गर्दछ । साथै यस्ता प्रमुख पदहरुमा महिला र पुरुषबिच आलोपालो गर्ने कानुनी व्यवस्था गर्न माग गर्दछ ।

७. लैंगिक समानता हासिल गर्नका लागि सबै राजनीतिक दलहरुको सबै कमिटीहरुमा पदाधिकारी सहित समानुपातीक सहभागीताको व्यवस्था विधानमै सुनिश्चित गर्न यो सम्मेलन माग गर्दछ । साथै पार्टीको प्रमुख पदमा पनि महिला र पुरुषबीच आलोपालो प्रणाली लागू गर्न पनि जोडदार माग गर्दछ।

८. स्थानीय, प्रदेश र केन्द्र सरकारको महिला सशक्तिकरण र आर्थिक सवलीकरणका कार्यक्रम अन्तर्गत राजनीतिमा संलग्न महिलाहरुलाई पनि सहभागी गर्न तथा लैंगिक मैत्री कानुन निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्न जनप्रतिनिधि महिलाहरुलाई आह्वान गर्दछ । साथै महिला केन्द्रीत कार्यक्रमहरुबाट अधिक प्रतिफलप्राप्त गर्न÷गराउन अनेमसंघ तीनै तहका सरकारसँग माग गर्दछ ।

८. संवैधानिक र कानुनी प्रावधानहरुका बारेमा आममहिलाहरुलाई जानकारी प्रदान गर्नका लागि कानुनी साक्षरता कार्यक्रम संचालन गरी विशेष गरी महिलासँग सम्बन्धित कानुनबारे जानकारी गराउन तीनै तहका सरकारसँग जोडदार माग गर्दछ ।

९. सामाजिक विभेद, जातीय भेदभाव तथा छुवाछुत, अन्धविश्वास, घरेलु हिंसा, दाइजो, तिलक प्रथा, छाउपडी, बोक्सी आरोप लगाउने जस्ता कुरीति कुसंस्कार विरुद्ध अभियान सञ्चालन गरी कानुनले निषेध गरेका बालश्रम, बालविवाह, बहुविवाहलाई निरुत्साहित गर्न यस सम्बन्धी कानून कडाइका साथ लागु गर्न, पीडितलाई सहजै क्षतिपूर्तिको व्यवस्था गर्न तथा पीडकको संरक्षण गर्नेलाई समेत कारवाही गर्न सरकारलाई जोडदार माग गर्दछ ।

१०. राजनीतिक दलहरुले महिला हिंसा विरुद्धको आचार संहिता निर्माण गरी पालना गर्न÷गराउन संयन्त्र तयार गर्न आह्वान गर्दछ । साथै पार्टी कार्यालयहरुमा हटलाइन नम्बर सहितको लैंगिक हिंसा गुनासो सुनुवाइ र कारवाही इकाइ गठन गर्न माग गर्दछ ।

११. महिला अधिकार प्राप्ति र समतामूलक समाजका लागि नेपालको महिला आन्दोलनबाट केही राजनीतिक अधिकार प्राप्त भएको छ । तर पूर्ण राजनीतिक अधिकार प्राप्ति तथा आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको संजाल निर्माण गरी अभियान संचालन गर्नका लागि हातेमालो गर्न आह्वान गर्दछ ।

१२. मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको वर्तमान अवस्था प्रति अनेमसंघ, सरकारको ध्यानाकर्षण गराउँदछ । साथै यस अवस्थाले आमजनताको दैनिक जीवन कठिन बन्दै गइरहेकाले दैनिक उपभोग्य वस्तुहरुमा बढिरहेको महंगी तत्काल नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछ । स्वदेशी उत्पादन र प्रयोगमा जोड दिँदै निर्यातमुखी र आत्मनिर्भर अर्थतन्त्रको नीति अद्यावधिक गर्दै कार्यान्वयन गर्न पनि जोडदार माग गर्दछ ।

१३. समावेशी सिद्धान्तलाई अवलम्बन गर्दै बालविकासदेखि उच्चतहसम्म शिक्षामा बालिका एवं महिलाहरुलाई अवसर प्रदान गर्नका लागि लगानी बढाउन सरकारसँग माग गर्दछ । र, शिक्षासँगै खेलकुदमा बालिकाहरुलाई सहभागितामा प्रोत्साहन गर्नका लागि आर्थिक स्रोत र साधनको व्यवस्था गर्न पनि माग गर्दछ । साथै महिलाहरुलाई रोजगारमूलक शिक्षा र महिला उद्यमशिलतामा प्रोत्साहन गर्न पनि सरकारसँग माग गर्दछ ।

१४. महिला सशक्तिकरण र नेतृत्व विकासका लागि घरायसी कामको मूल्यांकन तथा कामको बाँडफाँड सम्बन्धी स्पष्ट कानुन निर्माण र प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्दछ ।

१५. नेपाली महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रजनन स्वास्थसँग सम्बन्धित रोगहरुका साथै नसर्ने रोगहरुको समेत निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

१६. अपांगता भएका महिलाहरुको शिक्षा, स्वास्थ्य जस्ता मौलिक अधिकार सुनिश्चित गरी सहज जीवनयापनका लागि रोजगारीमा विशेष अवसर र पहुँचको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

१७. आठौँ राष्ट्रिय सम्मेलनसम्ममा अनेमसंघ आफ्नै घरमा अभियान अन्तर्गत अनेमसंघको आफ्नै कार्यालय भवन बनाउने लक्ष्य पुरा गर्नका लागि नवनिर्वाचित कमिटी र अनेमसंघको सम्पूर्ण संरचना क्रियाशिल रहँदै आर्थिक सहयोगका लागि सहयोगी निकायहरुमा समन्वय गर्न तथा सहयोग जुटाउन प्रतिबद्धता व्यक्त गर्दछ ।

१८. अन्तमा, सातौँ राष्ट्रिय सम्मेलन सफलपार्न विभिन्न पक्षबाट सहयोग गर्नुहुने प्रमुख अतिथि नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड के.पी. शर्मा ओलीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। साथै विभिन्न किसिमबाट सहयोग पुर्‍याउने व्यक्ति, संस्था तथा निकायहरुलाई पनि धन्यवाद व्यक्त गर्दछौँः

· अनेमसंघका इन्चार्ज, पूर्व अध्यक्ष÷संयोजक, पदाधिकारी तथा सदस्यहरु, निर्वतमान आयोजक कमिटी तथा अन्य विभिन्न तहगत कमिटीहरु, विभिन्न समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरु,

· पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय सदस्यहरु, जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा विभिन्न जनसंगठनका पदाधिकारी, निर्वाचन आयोग तथा अध्यक्ष मण्डल प्रमुख तथा सदस्यहरु, विभिन्न देशबाट आउनुभएका प्रतिनिधि तथा शुभकामना सन्देश पठाउने राजनीतिक दल तथा संगठनहरु, आर्थिक सहयोग गर्ने व्यक्ति, संस्था तथा निकाय, कला प्रदर्शनी तथा स्वास्थ्य शिविरका लागि सहयोग गर्ने व्यक्ति तथा निकाय, सांस्कृतिक कार्यक्रमका लागि विभिन्न विद्यालयबाट आएका छात्राहरु तथा जनसांस्कृतिक महासंघ, नेपाल संघ, राष्ट्रिय ललितकला संघ नेपाल, राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठान, हलउपलब्ध गराउने नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान,

· विभिन्न संचार माध्यम तथा पत्रकार साथीहरु, स्वयंसेवक साथीहरु, हल उपलब्ध गराउने नेपाल प्रज्ञा प्रतिष्ठान प्रत्यक्ष एवम् परोक्ष रुपमा सहयोग गर्नुहुने महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर