चितवनमा रेनु दाहालको चुनावी भाषण- रविलाई भोट आकाशबाट वर्षिन्छ ? – Nepal Press

चितवनमा रेनु दाहालको चुनावी भाषण- रविलाई भोट आकाशबाट वर्षिन्छ ?

‘प्रधानमन्त्रीज्यूले दिनदिनै रिपोर्ट लिइराख्नुभएको छ, ठूला दलले आ-आफ्नो भोट जोगाए रविले हार्छन्’

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेविरुद्ध कडा टिप्पणी गरेकी छन् । चितवनमा आयोजित एक चुनावसभामा बोल्दै सबै ठूला पार्टीहरूले आ-आफ्नो भोट बैंक सुरक्षित राखेर रविलाई हराउनुपर्नेमा जोड दिइन् ।

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको चुनावी कार्यक्रममा रेनुले सम्बोधन गरेकी थिइन् । उनले आफ्नो पार्टी माओवादीबाट श्रेष्ठमाथि कुनै धोका नहुने प्रत्याभूति दिइन् । रवि लामिछानेले एकपटक जनताको दिलदिमाग भड्काएर चुनाव जिते पनि अब त्यसो हुन दिनु नहुने उनको भनाई थियो ।

उनले रविमाथि व्यक्तिगत आक्षेपहरू पनि लगाइन् । रविले चार-चार वटा श्रीमती बिहे गरेको भन्दै दाहालले उनको पछि लाग्नेहरू देखेर अचम्ममा परेको बताइन् । रविलक्षित दाहालका अभिव्यक्तिहरू यस्ता थिए :

‘यसो हेर्छु, अचम्म लाग्छ… रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या… । त्यसमा पनि महिला दिदीबहिनीहरू छन् । चार-चारवटा श्रीमती बिहे गरेको छ । दुई-दुईवटा नागरिकता छन् । अहिले त दुई करोडका कुरा पनि आइसके । सबै चिजमा छलाङ छ । उल्टो मति उल्टो गति… यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ ।

सांसद भएको ६-८ महिनामा के-कस्ता काम गर्नुभयो ? उहाँले एउटा जनप्रतिनिधिका हिसाबले काम गर्नुभएन । वन समितिमा गएर पत्रकारको शैलीमा सातो लिनुभयो । होटल व्यवसायीहरूको माझमा गएर उहाँहरूमाथि प्रहरी, प्रशासनले पनि नगरेको काम गर्नुभयो । केही कमीकमजोरी हुन सक्छन् । भुलवस हुने कमीकमजोरीलाई स्टन्टबाजी गरेर सातो लिने काम उहाँले गर्नुभयो ।

धर्मचोकमा गएर ४ वर्षअघि निर्माण कार्य अघि बढेको सडकलाई यति दिनभित्र गर्ने भनेर फर्मान र मिडियाबाजी गर्नुभयो । जादूको छडी झैँ आदेशको भरमा, निर्देशको भरमा सम्पन्न भएको जसरी प्रचार गर्नुभयो । चितवनवासी जनसमुदायले उहाँको काम गर्ने तौरतरिका बुझ्न जरुरी छ । यसरी होहल्ला र मिडियावाजी गरेर जनताको अपेक्षा पूरा गर्न सकिँदैन । यो कुरामा सचेत हुन जरुरी छ ।

र एउटा पुरानो पार्टीका स्थापित नेता-कार्यकर्ता र संसदीय राजनीति जनअपेक्षा बुझेको नेतृत्व र व्यक्तित्वलाई यहाँका जनताले रोज्नुपर्छ । अहिले माहोल राम्रो बनेको छ । कांग्रेस, माओवादी र एमालेले आफ्नो मतलाई मात्रै जोगाउन सक्यौं भने रविको भोट कहाँबाट आउँछ र ? माथि आकाशबाट बर्षिने त होइन होला ? यही धर्तिबाट यिनै पुराना पार्टीहरुकै भोट, सोझा जनताको दिल-दिमागलाई भड्काएर आफ्नो पक्षमा पारिएका भोटहरू हुन्… अब त्यसो हुन नदिऊँ । विगतका कमी-कमजोरी करेक्सन गर्ने मौका आएको छ । यो मौकालाई खेर नफालौं ।’

दाहालले गठबन्धनका सबै पार्टीले कांग्रेसका उम्मेदवारलाई आफ्नो ठान्नुपर्ने बताइन् । पार्टी नेतृत्वले गरेको निर्णयलाई सबैले स्वीकार्नुपर्ने उनको भनाइ थियो ।

दाहालले कांग्रेस उम्मेदवारलाई माओवादीबाट धोका नहुने प्रत्याभूति दिलाउँदै यसो भनिन्ः

‘हाम्रो (कांग्रेस र माओवादी) त ६२/६३ देखिको सहकार्य हो । नेकपा माओवादी, कांग्रेस, नेकपा एकीकृत समाजवादी सबै एउटै पार्टी हुन् क्या अहिले । कोही सानो, कोही ठूलो होइन । हैसियतअनुसारको भागबन्डाको कुरा छ । ठूलोले ठूलो, सानोले सानो भाग लिन्छ । आपसी लेनदेनको कुरा हो । विन-विन हुने हिसाबले गरेका कुरालाई सहर्ष स्वीकार्नुपर्छ ।

हिजो पनि, आज पनि, भोलि पनि मुलुक र जनताको पक्षमा नेतृत्वले गरेका निर्णयलाई सबैले स्वीकार्नुपर्छ । सहमति, सहकार्य र एकता गिरिजाबाबुको मन्त्र थियो । यही परिपाटीमा सहयात्री भएर यहाँसम्म आएका छौं । गठवन्धनको जो भए पनि मेरै हो भनेर अघि बढ्न जरुरी छ । माओवादीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु । पार्टीभित्र बहस हुन्छ । हाम्रो उम्मेदवार हुनुपर्‍यो भन्ने दाबी-विरोध र आकांक्षा हुन्छ । तर, पार्टीभित्रका बहसलाई बाहिर ल्याएर मिडियाबाजी गरे भन्दैमा त्यसलाई अतिरञ्जित गरेर बुझ्न जरुरी छैन । सबै पार्टीभित्र यस्ता बहस हुन्छन् ।

जितनरायणजीले आफ्नो पार्टीमा गरेको बहसलाई मिडियामा ल्याएर माओवादीका नेता, कार्यकर्ता, शुभचिन्तक र मतदातालाई भड्काउने प्रपञ्च भइराखेको छ । यसलाई स्वभाविक हिसाबले लिन आग्रह गर्न चाहन्छु । आ-आफ्ना आकांक्षा र दावी हुन्छन् तर निर्णय भएपछि सहर्ष स्वीकार्नुपर्छ । माओवादी केन्द्रमा कुनै समस्या हुँदैन । म विश्वास दिलाउन चाहन्छु । माओवादीबाट कुनै दायाँबायाँ, धोका, मत यताउता हुँदैन । ९९ प्रतिशत दावाका साथ भन्छु, हाम्रो भोट तपाईंको पक्षमा जानेछ ।

प्रधानमन्त्रीज्यू, पार्टी अध्यक्षज्यूले बारम्बार, दिनको एकपटक रिपोर्ट लिइराख्नुभएको छ । के हुन्छ चितवनमा ? भनेर सोधिराख्नुभएको छ । आफू उम्मेदवार नहुँदा पनि उहाँलाई चिन्ता चितवनकै छ । जसरी पनि गठबन्धनले जित्नुपर्छ, दायाँबायाँ हुँदैन भनेर खबरदारी गर्नुभएको छ । हाम्रै उम्मेदवार हो, जसरी पनि जिताउनुपर्छ भन्ने उद्देश्य र सोचका साथ अघि बढेका छौं ।

प्रतिक्रिया

2 thoughts on “चितवनमा रेनु दाहालको चुनावी भाषण- रविलाई भोट आकाशबाट वर्षिन्छ ?

  1. रेणु दाहाल तपाईंले सक्ने भए आजैदेखि फलानो .. भन्नुभएको होला त्यहाँ त गठबन्धन भन्दा अलि बढी भोट नेकपा एमालेको छ रे झण्डै ८५० माथि के हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर