महतले अर्थमा फिर्ता ल्याए विष्णु पौडेलले सरुवा गरेका तीन सहसचिव – Nepal Press

महतले अर्थमा फिर्ता ल्याए विष्णु पौडेलले सरुवा गरेका तीन सहसचिव

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी हेरफेर गर्न थालेका छन् । अर्थ मन्त्रालय आएको एकसाताभित्रै विष्णु पौडेलले सरुवा गरेका सहसचिव अर्थमा फिर्ता बोलाएका छन् ।

यसअघि अर्थ मन्त्रालयमै काम गरेका तीन सहसचिवलाई महतले फिर्ता ल्याएका हुन् । उत्तर खत्री, बाबुराम सुवेदी र भुपाल बराल बिहीबारबाटै अर्थमा हाजिर भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

यद्यपि उनीहरुलाई अहिलेसम्म कुनै महाशाखा तोकिएको छैन । स्रोत भन्छ, ‘अहिले अर्थ मन्त्रालयमा ९ वटा महाशाखा छन् । सबै महाशाखामा प्रमुख छन् । यहाँ भएकालाई अन्त नपठाइ उनीहरुलाई महाशाखा तोक्न नमिल्ने भएकाले हाजिरमात्रै गराएर राखिएको छ । मन्त्रीको नजरमा कुन महाशाखा होला । एक दुई दिनभित्रै थाहा हुन्छ ।’

अहिले महत्वपूर्ण महाशाखाको रुपमा रहेको बजेट तथा कार्यक्रम महाशाखामा सहसचिव धनीराम शर्मा छन् । यस्तै राजस्व व्यवस्थापन महाशाखामा रितेश शाक्य, आर्थिक नीति विश्लेषण महाशाखामा सुमन दाहाल, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा झक्क आचार्य, वित्तीय संघीयता समन्वय महाशाखामा ईश्वरी अर्याल र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा श्रीकृष्ण नेपाल छन् ।

यसैगरी कानून तथा फैसला कार्यान्वयन महाशाखामा अर्जुनकुमार खड्का, योजना, अनुगमन तथा मूल्याङ्न महाशाखामा आनन्द काफ्ले र प्रशासन महाशाखामा लक्ष्मीप्रसाद निरौला छन् ।

अर्थमन्त्रीले चलाउन सक्ने महाशाखामा बजेट तथा कार्यक्रम, राजस्व व्यवस्थापनलगायतका छन् ।

श्रम तथा रोजगार मन्त्रालयमा रहेका उत्तरकुमार खत्री शंकरप्रसाद कोइराला अर्थमन्त्री भएका बेला अर्थमा भित्रिएर काम गरेका थिए । राजस्व प्रशासनमा दख्खल भएका बराल अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि प्रधानमन्त्री कार्यालय सरुवा भएका थिए । त्यसअघि उनी अर्थमै राजस्व महाशाखा प्रमुख थिए ।

योजना आयोगमा कार्यरत बाबुराम सुवेदी पनि यसअघि अर्थमै कार्यरत थिए । उनी फेरि अर्थमै आएका छन् । अर्थमा भएका सुमन दाहाल र झक्कप्रसाद आचार्यलाई सरुवा गर्ने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *