तनहुँ १ : गोविन्दलाई स्वर्णिमको डर, खनाललाई जोशीको भर – Nepal Press

तनहुँ १ : गोविन्दलाई स्वर्णिमको डर, खनाललाई जोशीको भर

पोखरा । उपनिर्वाचनको उम्मेदवारी दर्ताकै दिन सोमबार तनहुँ पुगेर कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई तनहुँवासीले किन मत हाल्ने ? उनले स्वर्णिमको आलोचना गरेर धेरै समय खर्चिए । उक्त दिनको सम्बोधनमा रास्वपाका उम्मेदवार स्वर्णिमलाई मतदान नगर्न थापाले धूवाँधार भाषण गरे ।

स्वर्णिमलाई लक्ष्य गर्दै गगनले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिस्ट उम्मेदवारलाई योपटक तपाईंहरूले भन्नुपर्छ- यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो, त्यसले बजाउँदै हिँड्ने । यहाँको कांग्रेसको साथीहरुले बताउनुपर्छ ।’

उनले कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमलाई भोट नहाल्न आग्रहमात्र गरेनन्, तनहुँका जनताले स्वर्णिमलाई भोट नहाल्ने ठोकुवासमेत गरे । उनले सम्बोधनको अधिकतम समय वाग्लेको आलोचना गर्नमा सके । यसबाट पनि थाहा हुन्छ, तनहुँ १ मा कांग्रेसलाई स्वर्णिमको उम्मेदवारीले उनकै पूर्वपार्टी कांग्रेसलाई कत्तिको डर छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ मा ९ जनाले उम्मेदवारी दर्ता गराए पनि कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका भट्टराई मत संरक्षण गर्दै विरासत जोगाउने रणनीतिमा छन् । रास्वपाका डा. वाग्ले र एमालेका खनाल विरासत भत्काएर जित निकाल्न दाउमा देखिन्छन् ।

कांग्रेसले कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले भोट काट्ने डरमा मत सुरक्षित गर्नेमात्र दाउमा छैन, असन्तुष्ट गोविन्दराज जोशी पक्षलाई रिझाउन हरसम्भव प्रयत्न गरिरहेको छ ।

कांग्रेसका महामन्त्री गगन थापा नै जोशी पक्षलाई कांग्रेसमा रिझाउन लागिपरेका छन् । कांग्रेसले जोशीमाथिको कारबाही केही दिनअघि फुकुवा पनि गरिसकेको छ । जोशीले कारबाही फुकुवालाई नमान्ने प्रतिक्रिया दिएका थिए । तर, कांग्रेस फर्कन लचक देखिएको उनी निकटस्थ बताउँछन् ।

कारबाहीयता उनी कांग्रेसमा सक्रिय हुन नपाएका मात्रै होइनन्, २०७९ को स्थानीय निर्वाचनमा छोरालाई व्यास नगरपालिको मेयर उम्मेदवार बनाई कांग्रेसलाई नै टक्कर दिएका थिए । मंसिरको आम निर्वाचनमा त उनी रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवार बने ।

त्यति बेला जोशीले ६ हजार मत प्राप्त गरेका थिए । तर, यसपटक भने जोशी आफू उठेनन् र कसैलाई उठाएनन् पनि । निर्वाचनमा कसलाई सघाउने भन्ने सार्वजनिक गरेका छैनन् । कांग्रेसले कारबाही फुकुवा गरेसँगै जोशी कांग्रेसमा फर्किन केही लचक देखिएका छन् ।

जोशीले कांग्रेस सभापति देउवालाई वडादेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताको व्यवस्थापन गरे कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने सर्त राखेको स्रोत बताउँछ । जोशीले ७ हजार मत आफूसँग रहेको दाबी गर्दै आएका छन् । जोशीले आफूनिकटका नेताहरुको पार्टीमा व्यवस्थापन गर्न खोजिरहेको देखिन्छ ।

तर, उक्त समूहका गोविन्दराज जोशीका छोरा दीपकराजले आफूहरुले कांग्रेसमा भाग नखोजेको बताए । ‘हामीले कांग्रेससँग पद खोजेको होइन तर, नेविसंघ, तरुण दल, पार्टीको वडा, क्षेत्र, जिल्ला, प्रदेश, केन्द्रसम्म खुबी भएकालाई क्षमता हेरेर राख्नुपर्छ,’ दीपकले भने ।

मंसिरको निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । एमाले आफ्नो मत जोगाएर चुनाव जित्ने दाउमा देखिन्छ । कांग्रेसको मत कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले काट्ने भएकाले आफ्नो मत जोगाएमात्रै विजयी हुने आत्मविश्वास एमाले नेताहरुमा छ ।

गत मंसिरको निर्वाचनमा कांग्रेसले हामीले भन्दा करिब साढे ५ हजार बढी मत ल्याएको थियो, अहिले कांग्रेसको मत रास्वपाको उम्मेदवारबाट काटिन्छ, अहिले हामी आफ्ना मत सुरक्षित राखेर जित निकाल्नेमा ढुक्क छौं,’ एक एमाले नेताले भने ।

अर्काेतर्फ जोशी समूहलाई कांग्रेससँग मिल्न नदिने एमाले रणनीति छ । एमालेले यसपालि आफ्नो मत सुरक्षित राखी जोशी समूहको मत तान्ने उसको जोडबल हो । मंसिरकै चुनावमा जोशी र एमाले उम्मेदवारले ल्याएको मत नै विजेता रामचन्द्र पौडेलका भन्दा बेसी थियो ।

तसर्थ पनि एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई जोशीको भर चाहिएको छ । कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले कांग्रेसकै भोट काट्दा आफूहरुलाई फाइदा हुने एमाले आंकलन छ ।

रास्वपाबाट उम्मेदवार बनेका डा वाग्ले पनि निर्वाचन जितेर नयाँ इतिहास लेख्ने दाउमा छन् । गत मंसिरको निर्वाचनमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याउँदा समानुपातिकतर्फ १२ हजार ७ सय ७३ मत ल्याएको थियो । तनहुँका जनताको चेतनास्तर राम्रो भएकाले रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउनेमा रास्वपा ढुक्क देखिन्छन् ।

‘अघिल्लोपटक आधार बनेको थिएन, पर्ख र हेरको अवस्था थियो नि त, यसपालि भने हाम्रो आधार बनेको छ । तनहुँ १ का जनताले रास्वपाका उम्मेदवारलाई जिताउँछन् भन्नेमा म ढुक्क छु,’ रास्वपाका एक नेताले भने ।

तनहुँ १ मा आँबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर