ग्रामीण क्षेत्रमा एमालेको मिसन ग्रासरुटले उत्साह ल्यायो : गिरीधारीलाल न्यौपाने – Nepal Press

ग्रामीण क्षेत्रमा एमालेको मिसन ग्रासरुटले उत्साह ल्यायो : गिरीधारीलाल न्यौपाने

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानले पार्टी कार्यकर्तालाई मात्र नभएर ग्रामीण क्षेत्रमा पार्टीलाई माया गरेका शुभेच्छुकहरुमा पनि ठूलो उत्साह आएको बताएका छन् ।

लामो समय पार्टीलाई मतदान गरेपनि उनीहरु संगठित हुन नपाएको तथा नेताहरुसँग आफ्ना कुराहरु राख्न नपाएकाहरुलाई अभियानले निकै ऊर्जा थपेको उनको भनाइ छ ।

मिसन ग्रासरुट अभियान लिएर प्यूठानको गौमुखी गाउँपालिकाको वडा नं १ र २ को अर्खामा पुगेका नेता न्यौपानेले यो अभियानले पार्टी र कार्यकर्ता एवम् शुभेच्छुकहरुबीच रहेको ठूलो खाडल पुरिएको बताएका हुन् ।

‘दशकौंदेखि पार्टीलाई कुनै संगठनबिन सहयोग गरिरहेकाहरुले यो अभियानबाट निकै उत्साह थपेको बताउनुभएको छ, यसले पार्टी संगठनलाई मात्र होइन गाउँका वास्तविक समस्यालाइृ नेताहरुले प्रत्यक्ष जान्न पाउने अवसर आएको छ, गाउँका धेरै समस्या मध्ये रोजगारीका लागि युवाशक्ति विदेशिनुपर्ने समस्यालाई स्थानीयले गम्भीरताका साथ उठाउनुभएको छ, एमालेलाई सबै शक्ति मिलेर एक्लाउन खोजेपनि दिएको अपार साथलाई पार्टीले ठूलो शक्तिको रुपमा लिनुपर्दछ’, नेता न्यौपानेले भने ।

लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका नेता न्यौपानेले पार्टीका जिल्ला अध्यक्ष विजयविराज विष्टसहितका स्थानीय नेताहरु लिएर प्युठानका ग्रामीण क्षेत्रमा पुगेका छन् ।

उनीसँग स्थानीयले भर्खरै परेको असिनापानीले किसानलाई पारेको असर, टावर नहुँदा स्थानीयले भोगेको समस्या र सदरमुकामबाट निकै टाढा भएपनि बाटोको सहजता नभएकाले भोग्नुपरेको समस्या गम्भीरताका साथ उठाएका छन् । नेता न्यौपानेले स्थानीयले उठाएका समस्या प्राथमिकताका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्लामा लामो समय जनमोर्चा, माओवादी र नेपाली कांग्रेसलाई मतदान गरेकाहरुलाई अब उनीहरुबाट राष्ट्रियताको रक्षा र समृद्धिको काम हुन नसक्ने भएकाले एमालेलाई बलियो शक्ति बनाउन आग्रह गरेको उनले बताए ।

उनले प्युठानको गौमुखी, मल्लरानी र झिमरुक गाउँपालिकामा आफ्नो जिम्मेवारी परेकोमा सबै क्षेत्रमा स्थानीय पार्टी कमिटी, जिल्ला तथा प्रदेश कमिटी र विभिन्न जनवर्गीय संगठनहरुले उत्साहपूर्वक साथ दिएको बताए ।

जिल्लाका ग्रामीण क्षेत्रमा धेरै ६० वर्ष कटेका वृद्धवृद्धा तथा अन्य उमेरका महिलाहरु धेरै देखिएकाले सोही अनुसारको योजना बनाउन प्रदेश सरकारमा आफूले पहल गर्ने न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर