नेपालमा क्रिप्टोकरेन्सीको प्रतिबन्ध कायमै राख्ने केन्द्रीय बैंकको निर्णय
काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारको जोखिम विश्लेषण गर्दै यस्तो खालको कारोबारमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने जनाएको छ ।
क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै प्रतिकूल असर पर्न सक्ने विश्लेषण केन्द्रीय बैंकले गरेको छ । आइएमएफले (अन्तर्राष्ट्रिय मुद्रा कोष) २०२१ अक्टोबरमा जारी गरेको विश्वव्यापी वित्तीय स्थायित्व प्रतिवेदनमा क्रिप्टोकरेन्सीलाई वित्तीय स्थायित्वमा चुनौतीपूर्ण मानेको छ ।
केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी प्रचलनमा आउँदा अर्थतन्त्र डरलाइजेसन हुने सम्भावना विद्यमान रहन्छ र मुद्रा प्रदाय तथा ब्याजदर माथि केन्द्रीय बैंकको नियन्त्रण गुम्न सक्ने जोखिम रहने खतरा औँल्याएको छ ।
क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालन हुने र केन्द्रीय बैंकको नियन्त्रण बाहिर गई मौद्रिक नीतिको प्रशारण संयन्त्र लगायत सोको प्रभावकारितामा समेत नकारात्मक असर पर्न सक्ने राष्ट्र बैङ्कले भनेको छ ।
क्रिप्टोकरेन्सी स्विकार गरेमा विदेशी मुद्राको सञ्चितीमा नकारात्मक असर पर्ने, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पालनामा चुनौती थपिने, क्रिप्टोकरेन्सीबाट नेपाल जस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने सम्भावना,क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने लगायतको जोखिम औँल्याइएको छ ।
यस्तै नेपाली नागरिकले नेपालभित्र तोकिएको सीमासम्म मात्र नगद विदेशी मुद्रा राख्न सक्ने व्यवस्था रहेको छ । सो अवस्थामा क्रिप्टोकरेन्सीसम्बन्धी नियन्त्रणरहनुपर्ने भनिएको छ ।
नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै यस्तो कार्य नगर्न नगारउँन हालसम्म ४ पटक सुचना जारी गरिसकेको छ ।
क्रिप्टोकरेन्सी जोखिम विश्लेषण प्रतिवेदनमा भनिएको छ-
क्रिप्टोकरेन्सीमा कुनै देश/सरकारको प्रत्याभूति/जमानत नहुने, कुनै पनि सुरक्षण नहुने, वित्तीय मध्यस्थकर्ता नहुने तथा सट्टेबाजी प्रयोजन बाहेक अन्य कुनै पनि उपयोगिता नहुने र उक्त अदृश्य वस्तु सर्वस्वीकार्य नभई केही निश्चित समूह मिली आफ्नै निहित स्वार्थको लागि मात्र जारी/प्रयोग हुने गर्दछ ।
क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम, वित्तीय स्थायित्व नहुने सम्बन्धी जोखिम, मौद्रिक नीति कार्यान्वयन नहुने सम्बन्धी जोखिम, विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पर्न सक्ने सम्बन्धी जोखिम, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम, वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम, लगानीको असुरक्षा हुने सम्बन्धी जोखिम, ठगी तथा कर छली सम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिम, वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिम आदि विद्यमान रहने हुँदा नेपाल राष्ट्र बैंकले लगाएको प्रतिबन्ध कायमै राख्न उचित छ ।