चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ ।
शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।
एमालेले सो क्षेत्रमा अन्य पार्टीका प्रभावशाली नेतालाई प्रवेश गराएर टिकट दिने प्रयास समेत भइरहेकाले आज निर्णय नभएको हो ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् ।
बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल,प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।
तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार बिहानै जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए ।
नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । उनको परिवार कांग्रेसमा आबद्ध छन् ।
दाजु सुवीर खनाल नेपाली कांग्रेसको नेता हुन् । उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री भएको बेला प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव र पछि विज्ञको रूपमा समेत काम गरेका थिए । अर्का दाइ रवीन्द्र खनाल राजाको सक्रिय शासनका बेला सहायक मन्त्री भएका थिए ।
खनालको पारिवारिक लिगेसी र कांग्रेसतर्फको समेत धेरै मत तान्ने आँकलनसहित उनलाई अघि सारिएको हो । उनी मङ्सिर ४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेर रास्वपाका शिशिर खनालसँग दोस्रो भएका थिए ।
खनाललाई उम्मेदवार बनाउँदा कांग्रेसका गोविन्दराज जोशी समूह र नेकपा एसका किसान श्रेष्ठको समेत समर्थन जुटाउन सकिने आँकलन एमाले नेताहरूको छ ।