रुपन्देही सुपरलिग: न्यू होराइजन सेमिफाइनलमा
रुपन्देही । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को समूह ‘सी’को खेलमा न्यू होराइजन क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
योसँगै लिग चरणका खेल सकिएका छन् भने सेमिफाइनल समिकरण पनि पूरा भएको छ । यसअघि वेष्टर्न क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन् ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६७ रनको योगफल बनायो । उसका लागि मनिष थापाले ५०, अमर मिश्राले २३ र रुपेश बश्यालले २१ रन बनाए ।
बलिङमा तिलोत्तमाका कृष्णप्रसाद भुसालले ४, सन्देश जिसीले २ तथा यम क्षेत्री, विष्णु कटेरिया र कृष्ण पराजुलीले समान १/१ विकेट लिए ।जवाफी व्याटिङ गरेको तिलोत्तमाले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो ।
उसका लागि भुवन गैरेले २३, मनोज सुनार र कृष्ण भुसालले १७/१७ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यू होराइजनका शक्तिप्रसाद गौचन, सुमित पराजुली, तुलाराम थापा र पुरुषोत्तम भट्टराईले समान २/२ तथा गोविन्द केसी र राहुल प्रजापतीले १/१ विकेट लिए । मनिष थापा म्यान अफ द म्याच भए ।
बुधबार पहिलो सेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानाकारी दिए ।