झापाका अलपत्र सडक समयमा सम्पन्न गर्न सभामुखको ताकेता – Nepal Press

झापाका अलपत्र सडक समयमा सम्पन्न गर्न सभामुखको ताकेता

झापा । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्वका सडकहरुलाई समयमा नै निर्माण सम्पन्न गर्न पहल गरेका छन् ।
पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न नभएका सडक आयोजनालाई पूरा गर्न सभामुखले सडक विभागका अधिकारीहरुसँग ताकेता गरेका थिए ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलका अनुसार सभामुखले चासो लिएका चारमध्ये तीन सडकको काम तोकिएकै समयमा पूरा हुने बताए । ‘बिर्तामोड–कप्तानबारी सडकको म्याद अझै एक वर्ष बाँकी छ,’ उनले भने,‘बाँकी तीन वटा सडक भने असार मसान्तसम्म पूरा हुने गरी गृहकार्य गरेका छौं ।’

सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेललाई सभामुख घिमिरेले रकमको अभाव हुन नदिने बताउँदै निर्माणाधिन सडक पूरा गर्न निर्देशन दिएका थिए । ‘मन्त्रालय र विभागमा म पनि समन्वय गर्छु,’ उनको भनाइ थियो, ‘काम पूरा गर्न तपाईंहरुको भूमिका हुनुपर्छ ।’

पौडेलले पनि ठेकेदार कम्पनीलाई आज छलफलका लागि बोलाइएको जानकारी दिँदै अब कि सडक पूरा गर्न नत्र कारबाहीका लागि तयार हुन सूचित गरिसकेका छौं ।

चैत ८ गते झापा पुग्नुभएका सभामुख घिमिरेले बिर्तामोड–कप्तानबारी सडकको स्थलगत अवलोकनसमेत गरेका थिए । उहाँले जनप्रतिनिधि र स्थानीयबासीसँग भेट गर्दै सडक लगायतका भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए ।

सभामुख घिमिरेले सैनिकमोड–गोलधाप सडक, शनिश्चरे–जयपुर सडक, बिर्तामोड–चन्द्रगढी सडक र बिर्तामोड–कप्तानबारी सडक असार मसान्तसम्म पूरा गर्न निर्देशन दिएका  थिए । सैनिकमोड–गोलधाप सडक रकम अभावले रोकिए पनि सोमबार मात्रै रकमान्तर भएर पैसा आएको छ ।

‘सभामुखज्यूले जसरी अभिभावकत्व निर्वाह गर्नुभएको छ, त्यसले हामीलाई ऊर्जा प्रदान गरेको छ, अब पैसाको समस्या छैन,’ उनले भने, ‘नाला खन्ने लगायतका संरचना बनेका छन्, बाँकी काम पनि पूरा गर्छौं ।’

शनिश्चरे–जयपुर सडकमा पनि ह्युमपाइप हाल्ने काम वैशाख १५ मा सकिने डिभिजन सडक प्रमुख पौडेलले जानकारी दिए । ‘सडकको म्याद असार मसान्तसम्म छ,’ उनले भने, ‘बाँकी काम पुरा गर्न हामीले ताकेका गरिरहेका छौं ।’

बिर्तामोड–चन्द्रगढी सडकमध्ये बिर्तामोड देउनियापुलसम्मको ८ किलोमिटर सडकको काम यही आर्थिक वर्षभित्र पूरा गर्ने निर्माण कम्पनी कन्टेक प्रा.लि.ले प्रतिबद्धता जनाएको छ । ‘सडक निर्माण ढिला भयो । द्रुत गतिमा लिएर जानुपर्‍यो भन्ने सभामुखज्यूको निर्देशन थियो,’ पौडेलले भने, ‘ठेक्का सम्झौताभित्र रहेर प्रयास गरेका छौं । विशेष योजना बनाएरै काम गरिरहेका छौं ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर