राजश्व संकलन साधारण खर्च धान्ने अवस्थामा छैन : पूर्वअर्थमन्त्री पौडेल – Nepal Press

राजश्व संकलन साधारण खर्च धान्ने अवस्थामा छैन : पूर्वअर्थमन्त्री पौडेल

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दीपछिकै निराशाजनक अवस्थामा रहेको उल्लेख गरेका छन् ।

गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए । ‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षकोभन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ ।’–पौडेलले भने, यो अवस्था करिब ५० वर्षपहिले नेपालमा देखिएको थियो ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले राजश्व संकलन साधारण खर्च समेत धान्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे । वि.स. २०२८ सालको घटना स्मरण गराउँदै पौडेलले भने –‘उक्त वर्ष अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको थियो । ठिक सोही घटना ५० वर्षपछि चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको बताए । सामान्य अवस्थामा जस्तो सत्ता पक्ष र प्रतिपक्षको अभ्यास गर्ने अवस्थामा नेपालमा नभएको उनले बताए ।

यसैगरी तत्काल क्रिया प्रतिक्रिया गर्ने अवस्थामा नेपाल नभएको बताउँदे उनले मुलुकको आर्थिक संकट समाधानका लागि सबै दल एउटै प्लेटफर्ममा बसेर लाग्नुपर्नेमा जोड दिए । नेता पौडेलले अर्थसंकट समाधानमा आफूले केही योजना थालेपनि ती काम गर्न नपाएको तर प्रतिपक्षमा बसेर पनि निरन्तर साथ दिने प्रतिबद्वता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर