समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।

नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताए ।

‘शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ’, उनले भने ।

संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै उनले उनीहरूको सशक्तीकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गरे ।

‘संविधानले संसद्मा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । अहिले स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिला छन् । अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी हो’, उनले भने ।

महिलामा सिर्जनात्मक क्षमता बढी हुने उल्लेख गर्दै उनले आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि उनीहरूको सहभागिता बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योगी तथा सांसद विनोद चौधरीले विभिन्न राजनीतिक परिवर्तनसँगै महिला सशक्तीकरणको मुद्दा पनि मूल प्रवाहीकरण हुँदै गएको बताए । केही अघिसम्म नेपालमा राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती र न्यायपालिका प्रमुखका रूपमा सुशीला कार्कीले काम गरेको स्मरण गर्दै उनले वालमार्ट जस्ता बहुराष्ट्रिय कम्पनीको नेतृत्व महिलाले गरेको उल्लेख गरे ।

महिलाले नेतृत्व गरेका व्यवसायहरू अझ बढी व्यवस्थित हुने पनि सांसद चौधरीको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले पहिले घराशायी कामकाजमा सीमित हुने महिला अहिले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिकामा पुगेको उल्लेख गरे । पछिल्ला दिनमा महिला नेतृत्व विकास हुँदै गएको व्यावसायिक जगतमा महिला पनि पुरुष जत्तिकै प्रतिस्पर्धी रहेको उनको भनाइ छ । लैङ्गिक समानताका क्षेत्रमा नेपाल उद्योग परिसङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अग्रवालले बताए ।

एसियाली विकास बैंकका देशीय निर्देशक आर्नौड काउसिसले महिला सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले महत्त्वपूर्ण नतिजा हासिल गरेको बताए । एसियाली विकास बैंकले आफू जोडिएका परियोजना तथा कार्यक्रममा लैङ्गिक समानतालाई प्रमुखताका साथ उठान गरेको उल्लेख गर्दै उनले यो क्षेत्रमा थप सहकार्यका लागि तयार रहेकोसमेत बताए।

‘एडिबीको समन्वयका परियोजनामा महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । यद्यपि, नेपालमा केही संरचनागत, सांस्कृतिक अवरोधले महिला उद्यमीलार्ई केही समस्यामा पारेको देख्न सकिन्छ । महिला सशक्तीकरणका लागि एडिबी सबै सरोकारवाला क्षेत्रसँग सहकार्यका लागि तयार छ’, उनले भने ।

परिसङ्घ महिला उद्यमी मञ्च सभापति छाया शर्माले कोभिड–१९ महामारीका कारण महिला उद्यमीमा परेको असरबारे छलफल र समाधान खोज्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बताइन् । सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुनेछ उनको भनाइ छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तीकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने परिसङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर