देशभरका युवा एमालेको साथमा छन् भन्ने प्रमाणित भयो : गुरुङ – Nepal Press

देशभरका युवा एमालेको साथमा छन् भन्ने प्रमाणित भयो : गुरुङ

हेटौँडा । नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य पार्वत गुरुङले देशभरका युवाहरू एमालेको साथमा रहेको प्रमाणित भएको बताएका छन् ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को वडा अधिवेशनमा बोल्दै पोलिटब्युरो सदस्य गुरुङले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणामबाट सबै दलहरू एकतातिर मिल्दा पनि एमाले निकट अनेरास्ववियु प्रथम स्थानमा रहनुले एमालेमा युवाहरूको क्रेज बढेको देखिएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने ‘ हामीलाई एक्लो पार्नको लागि दुई महिनाको अन्तरालमा गठबन्धन टुटाउने काम भयो, यसको असर स्ववियु निर्वाचनमा पनि देखिने हो कि भन्ने डर थियो, तर देशभरका युवाहरूले एमालेलाई देखाएको विश्वासको कारण घेराबन्दी तोड्दै प्रथम बन्न सफल भयौँ, यसले के प्रमाणित गर्छ भने देशभरका युवाहरूमा एमालेको क्रेज बढ्दो क्रममा छ ।’

स्ववियु निर्वाचनमा स्वतन्त्र भनिएकाहरू नराम्रोसँग पराजित भएको भन्दै एमालेप्रति जनविश्वास थप बढेको बताए । मिसन ग्रासरुटले एमालेप्रतिको ऊर्जा थप गर्ने बताउँदै गुरुङले देश बनाउने भिजन एमाले बाहेकको अरू कुनै दलसँग नभएको दाबी गरे ।

‘हामीले सरकारमा रहँदा जहिले पनि जनताको हित, देशको विकासको लागि मात्र सोच्ने गरेका छौँ, गणितले कहिलेकाहीँ साथ नदिन पनि सक्छ तर यो देश बनाउने भिजन एमाले बाहेक अरूसँग छैन, एमालेसँगको भएको भिजनलाई साथ दिनेको जमात दिनानुदिन बढ्दै गाएको छ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर