राष्ट्रिय टिममा अझै सुधार आवश्यक छ, भुटानसँगको खेलमा अझै बलियो भएर प्रस्तुत हुनुपर्छ : अनन्त – Nepal Press

राष्ट्रिय टिममा अझै सुधार आवश्यक छ, भुटानसँगको खेलमा अझै बलियो भएर प्रस्तुत हुनुपर्छ : अनन्त

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर प्लेयर अफ दी म्याच घोषित भएका अनन्त तामाङले राष्ट्रिय टिममा अझै सुधार आवश्यक भएको बताएको र भुटानविरुद्धको खेलमा अझै बलियो भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलको नतिजामा पराजित गरेको थियो। नेपालका लागि खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका अनन्तले नतिजा आफ्नो पक्षमा परेपनि सन्तोषजनक प्रदर्शन नभएको सुनाए ।

‘प्रदर्शन सन्तोषजनक त थिएन अझै सुधार गर्नुपर्ने छ, तर हामीले तयारी गर्ने पर्याप्त समय पनि पाएनौँ। नयाँ खेलाडी पनि धेरै हुनहुन्छ,’ खेलपछि अनन्तले भने, ‘पोसेसनमा लाओसले डोमिनेट गरे पनि नतिजा हाम्रो पक्षमा पार्न सफल भयौं । भुटानसँगको खेलमा हामी अझै बलियो भएर प्रस्तुत हुनुपर्छ । टिम कोर्डिनेसन र कम्यिुनिकेसन ग्याप हुन दिनु हुँदैन,’ उनले भने ।

खेलमा जसरी पनि गोल गर्ने लक्ष्य सुरुदेखि नै भएको र त्यही अनुसार ट्रेनिङमा पनि त्यसका लागि तयारी गरेको अनन्तले बताए ।

‘लक्ष्य त्यही (सेटपिसमा आफूले गोल गर्ने) थियो, हामीले ट्रेनिङमा त्यसको तयारी पनि गरेका थियौँ,’ उनले भने, ‘खुशी छु, कोचले भने जस्तै गरी गोल भयो।’

तुलनात्मक रूपमा लाओसले खेलमा नियन्त्रण जमाए पनि ‘कम्प्याक्ट डिफेन्डिङ’ गरेर नतिजा राख्न सफल हुँदा खुशी लागेको उनले सुनाए ।

राष्ट्रिय टिमका धेरै खेलाडी बिदेसिँदा ‘कोर्डिनेसन’मा समस्या भएको तर नयाँ खेलाडी टिममा सेट भएपछि त्यो समस्या समाधान हुने अनन्तले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर