थ्रि नेसन्स कप : लाओसमाथि नेपालको शानदार जित – Nepal Press

थ्रि नेसन्स कप : लाओसमाथि नेपालको शानदार जित

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथी २-० गोलको नतिजामा जित निकाल्दै नेपालले शानदार सुरुआत गरेको छ ।

दशरथ रंगशालामा सन्पन्न खेलमा नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

खेलको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

पहिलो हाफमा पाउना टिममाथि निरन्तर दवाव बनाएको नेपालका लागि ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । नवयुगले करिब ३५ यार्डबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो ।

त्यअघि, पनि नेपालले गोल गर्ने थुपै्रअवसर शृजना गरेपनि फिनिसिङमा चुकेको थियो । खेलको पाँचौं मिनेटमा आयुष घलानले लेफ्ट फ्ल्याङकबाट दिएको क्रशमा अनमार्क्ड रहेका नवयूग श्रेष्ठ हेडर कनेक्ट गर्न चुक्दा नेपालले अग्रता लिने अवसर खेर फालेको थियो ।

एरिक विष्टले १८औं मिनेटमा दिएको क्रसमा पुजन उपरकोटीको प्रहार क्रशबार माथिबाट बाहिरिएको थियो ।

लाओसका एटी भिङ्खामले २५औं मिनेटमा पेनाल्टि एरिया अगाडीबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

लाओसका कप्तान सोकाफोन भिङ्चिङखामले ३५औं मिनेटमा दाँया तर्फबाट गरेको उत्कृष्ट क्रसमा नेपालका डेब्यूट्यान्ट डिफेन्डर शनिस श्रेष्ठले क्लियर गर्दा लाओस बराबरी गोल फर्काउन चुकेको थियो ।

लाओसका बोनपाचन बोड्कोइले ६७औं मिनेटमा गरेको प्रहारमा नेपालका गोलकिपर किरण कुमार लिम्बु बिट भइसकेको अवस्थामा अनन्त तामाङले गोललाइनबाट बल क्लियर गर्दा पाउना टिम अग्रता लिन चुक्यो ।

मनिष डाँगीले ७२औं मिनेटमा दिएको क्रसमा नवयुग श्रेष्ठले मिलाइदिएको बलमा आयुष घलानको फितलो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

त्यसपछि पनि खेलको निर्धारित समयसम्म गोल गर्ने थुपै्र अवसर बनाएपनि नेपालले थप गोल गर्न सकेन ।

चार खेलाडीको डेब्यू

आजको खेलमा नेपालका चार खेलाडीले डेब्यू गरे । डिफेन्डर शनिष श्रेष्ठले सुरुआती ११ मा स्थान बनाएका थिए । खेलको ७४औं मिनेटमा नबिन लामाको स्थानमा मिडफिल्डर मणि कुमार लामा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेले ।

सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका सातदोबाटो युथ क्लबका दीपक राज सिंह ठकुरीले खेलको ८२औं स्थानमा नवयुग श्रेष्ठलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

खेलको इन्जुरि समयमा सुमित श्रेष्ठले आयुष घलानको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलो खेल खेल्ने मौका पाए । पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका चारै खेलाडीले प्रतियोगिताको पहिलो खेलमै डेब्यू अवसर पाएका हुन् ।

सिंगल राउन्ड रोबिन पद्दतीमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनलमा खेल्नेछन् । विजेता टिमले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । भने, उपविजेताले तीन हजार डलर पाउने छ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले चैत्र १४ गते भुटानसँग खेल्नेछ । त्यसअघि, चैत्र ११ गते भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल चैत्र १७ गते साँझ ५ः३० बजे हुनेछ ।

तस्बिरहरु : गाैरव पाैडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर