गठबन्धनमा लोसपाको अडान- चुनावअघिकै सहयात्री हौं, दुई मन्त्रालय चाहिन्छ
काठमाडौं । दश दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले दुई मन्त्रालयको दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने गृहकार्य अघि बढाएपछि लोसपाले आफूहरुलाई दुई मन्त्रालय पाउनुपर्ने अडान राखेको हो ।
चुनावअघि देखि नै सत्ता गठबन्धनको सहयात्री भएकाले आफूहरुलाई सम्मानजनक रुपमा दुई मन्त्रालय दिनुपर्ने लोसपा नेता शरदसिंह भण्डारीले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘हामीले दुई मन्त्रालयको दाबी गरेका छौं । हामी चुनावी गठबन्धनदेखि सामेल छौं । तर, यो सरकारको निरन्तरताको पक्षमा हाम्रो भूमिका हुन्छ । त्यसैले सबै सहकार्य गर्ने दलहरुले हामीलाई सम्मानजनक हिसाबबाट हुने समझदारीमा लोसपा अगाडि बढ्छ ।’
उनले मन्त्रालयको संख्या टुंगिएपछि मात्रै पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुंगिने बताए ।
लोसपाको प्राथमिकता कुन मन्त्रालय हो ? भन्ने जिज्ञासामा उनले भने, ‘हामीले अहिल्यै यही मन्त्रालय भनेका छैनौँ । गठबन्धन दलहरुबीच छलफलको क्रममा एउटा आधारमा बन्ला नि। तर, हामीले सम्मानजनक ढंगबाट भागबण्डा हुनुपर्छ भनेका छौं ।’
प्रतिनिधि सभामा चार सांसद रहेको लोसपाबाट सरकारमा जान नेता भण्डारीको नाम चर्चामा छ । यसअघि एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सरकारमा सहभागी गराइएको थिएन ।