कैलालीमा स्ववियु निर्वाचन नेविसंघ क्लिन स्वीप, अनेरास्ववियु ५ र क्रान्तिकारी ४ क्याम्पसमा विजयी – Nepal Press

कैलालीमा स्ववियु निर्वाचन नेविसंघ क्लिन स्वीप, अनेरास्ववियु ५ र क्रान्तिकारी ४ क्याम्पसमा विजयी

कैलाली । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ क्याम्पसको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आज वीरेन्द्र विद्या मन्दिर टिकापुरमा मतदान भइरहेको छ ।

हिजो मतदात भएका ९ क्याम्पस मध्ये नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले कुनै पनि क्याम्पसमा सभापति जित्न सकेको छैन । यहाँ सबै भन्दा धेरै एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जितेको छ । यहाँका ५ क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी हुँदा ४ क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले जितेको छ ।

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, गौरीगङ्गाको चौमाला बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र घोडाघोडीको बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।

ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कुबेर खड्का दोब्बर मतान्तरले प्यानलसहित विजयी भएका छन् । खड्काले ८१४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेविसंघका महेशराज जोशीले ४२९ मत पाएका छन् ।

खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका पुष्कर राज अवस्थी ११७ मत सहित विजयी भएका छन् भने बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै पुष्पा खाती विजयी भएकी छन् । नेविसंघका कुशल भुललाई पराजित गर्दै खाती विजयी भएकी हुन । खातीले ५२ मत प्राप्त गर्दै जित हात पार्दा उनका प्रतिद्वन्द्वी नेविसंघका भुलले भने ४९ मत प्राप्त गरेका हुन् ।

चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा १६१ मतसहित विजयी भएका छन् । सत्तारुढ दल निकट संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाए । लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना विजयी भएकी छन् । तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा नेवि सङ्घका भावेस उपाध्यायले १०८ मत पाएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, घोडाघोडी बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा विजयी भएको छ ।

घोडाघोडीमा माओवादीका प्रेमबहादुर सहकारीले ४९८मत सहित विजयी भए । उनका प्रतिस्पर्धी विनोद चौधरीले २६७मत पाए ।
सुखडकै राष्ट्रिय कलेजमा सुन्दर गौतम १५३ मतसहित विजयी भएका छन् । गौतमका प्रतिद्वन्द्वी नेविसंघका कर्णवीर कठायतले १११ मत प्राप्त गरेका छन् । मोहन्याल बहुमुखी क्याम्पसमा २५ मतसहित अर्जुन खत्री विजयी भए । उनका प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाएका छन् ।

रघुनाथ बहुमुखी क्याम्पसमा विप्लव निकट क्रान्तिकारी र नाउपाको विद्यार्थी सङ्गठनको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीकी विनीता चौधरी विजयी भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर