काबिल अर्थमन्त्रीको योग्यता योगदान कि ज्ञान ? अर्थतन्त्र सम्हाल्न अब परीक्षणको मौका छैन – Nepal Press

काबिल अर्थमन्त्रीको योग्यता योगदान कि ज्ञान ? अर्थतन्त्र सम्हाल्न अब परीक्षणको मौका छैन

उत्तरको छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाल भर्खरै सुरु भएको छ । उनले विगत १० वर्षदेखि विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनको नेतृत्व गरिरहेका छन् । यता दक्षिणको छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल चलिरहेको छ । विश्वको दोस्रो ठूलो जनसंख्या र सबैभन्दा ठूलो लोकतन्त्र भएको भारतमा मोदी तेस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री निर्वाचित हुने आकलन गरिएको छ ।

चीनमा सी जिङपिङ र भारतमा मोदीले कार्यकाल सम्हालिरहँदा नेपालमा खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, फेरि केपी शर्मा ओली, फेरि शेरबहादुर देउवा र अहिले फेरि प्रचण्ड प्रधानमन्त्री छन् । नेपालमा आठ पटक सरकार परिवर्तन भइसक्दा छिमेकी चीन र भारतमा एउटै सरकारले निरन्तरता पाइरहेको छ । यी दुइटै देशको आर्थिक प्रगति विश्वमै सबैभन्दा बढी लोभलाग्दो छ । चीनमा त कम्युनिष्ट अधिनयाकवादी सत्ता भएका कारण यति लामो अवधिसम्म किन एउटै सरकार कायम रह्यो ? भन्ने प्रश्नको खासै तुक नहोला । तर, भारत त हाम्रो जस्तै बहुदलीय लोकतान्त्रिक मुलुक हो । जहाँ जनताले मतदानको माध्यमबाट सरकार छान्छन् । जनताले दुई पटकसम्म मोदीलाई अत्यधिक बहुमतका साथ अनुमोदन गरेका छन् । भारतले गरेको आर्थिक प्रगति हेर्दा मोदीलाई तेस्रो कार्यकालका लागि पनि जनताले अनुमोदन गर्ने विश्लेषण धेरैको छ ।

तर, हामी नेपाली एक-दुई वर्षमा सरकार परिवर्तन भइरहने, राज्यको पूरा ध्यान आर्थिक क्रान्तिमा भन्दा राजनीतिमा केन्द्रित गरिरहने दुश्चक्रबाट कहिले मुक्त हुने ? यो प्रश्न कम पेचिलो छैन । हाम्रो जस्तै शासन प्रणाली भएको छिमेकी मुलुक भारतका प्रधानमन्त्री कसरी निरन्तर लोकप्रिय भइरहे ? कसरी उनले भारतलाई आर्थिक उन्नतिको शिखरतर्फ लगिरहेका छन् ? यसको उत्तर हाम्रो मुलुकका राजनीतिक दल तथा नेताहरुलाई थाहा नभएको होइन ।

चीनका राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री मोदीले कस्ता व्यक्तिहरुलाई आफ्नो टीममा समावेश गरेका छन् भन्ने कुरा पनि हाम्रा दल तथा शीर्ष नेताहरुलाई भलिभाँती थाहा छ । तर, प्रधानमन्त्री तथा दलका नेताहरु एउटा परम्पराबाट अझै मुक्त भइसकेका छैनन् । त्यो परम्परा हो- ‘पार्टीमा योगदान पुर्‍याएबापत मन्त्री पदद्वारा पुरस्कृत गर्ने ।’

राजनीतिक योगदानले मात्रै मन्त्रालय चलाउने सामर्थ्य  हुँदो रहेनछ भन्ने कुरा बुझेर छिमेकी देशहरुले कार्यान्वयनमा ल्याइसके । तर, हाम्रो मुलुकका प्रधानमन्त्री तथा दलका शीर्ष नेताहरुले अझै पनि बुझ पचाइरहेका छन् । जसको फलस्वरुप छोटो अवधिमै विद्यमान दल तथा नेताप्रति मात्रै होइन, शासन व्यवस्थाप्रति नै जनतामा वितृष्णा आइसकेको छ ।

‘फलानो सांसदले यति वर्ष पार्टीमा काम गरेको छ, ऊ आन्दोलनका क्रममा यति वर्ष जेल बसेको छ, त्यसैले मन्त्रिमण्डल विस्तार गर्दा उसलाई छुटाउनु हुन्न’ भन्ने मानसिकतामा देशका प्रधानमन्त्री तथा दलका शीर्ष नेताहरु अझै पनि छन् । आन्दोलन गर्नु, जेलनेल बस्नु, लामो समयसम्म पार्टीमा काम गर्नु सामान्य योगदान होइन । जोकोहीले यसरी योगदान गर्न सक्दैन । तर, राजनीतिक योगदानले मात्रै मन्त्रालय हाँक्ने सामर्थ्य प्राप्त हुँदो रहेनछ । जुन कुरा अहिलेसम्मका अनुभव तथा उदाहरणहरुले पुष्टि गरिसकेका छन् ।

राजनीतिक योगदानले मात्रै मन्त्रालय चलाउने सामथ्र्य हुँदो रहेनछ भन्ने कुरा बुझेर छिमेकी देशहरुले कार्यान्वयनमा ल्याइसके । तर, हाम्रो मुलुकका प्रधानमन्त्री तथा दलका शीर्ष नेताहरुले अझै पनि बुझ पचाइरहेका छन् । जसको फलस्वरुप छोटो अवधिमै विद्यमान दल तथा नेताप्रति मात्रै होइन, शासन व्यवस्थाप्रति नै जनतामा वितृष्णा आइसकेको छ ।

मन्त्रालयको जिम्मेवारी उच्च क्षमता भएका काविल सांसदहरुलाई दिइएन भने आगामी चुनावसम्म विद्यमान दल, नेता तथा शासन व्यवस्था नै बढारिने हो कि भन्ने संकेत देखिएको छ । यतिमात्रै होइन, मुलुक नै चौपट हुने अवस्था उत्पन्न हुने संकेतसमेत देखिएको छ । देशको आर्थिक अवस्था यति बेला कम जरजर छैन ।

उदाहरणका लागि चालू अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । जसमध्ये ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण हो । नौ खर्ब ६८ अर्ब एक करोड रुपैयाँ आन्तरिक ऋण हो । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै ५७ अर्ब २४ करोड ऋण थपिएको छ । कूल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४० प्रतिशत नाघ्नुलाई खतराको संकेत मानिन्छ । तर, नेपालको ऋण जीडीपीको अनुपातमा ४३ प्रतिशत नाघेको छ ।

यतिबेला नेपाल ऋणको साँवा व्याजवापत वार्षिक करिब एक खर्ब रुपैयाँ बुझाउनुपर्ने बाध्यतामा पुगेको छ । अर्कातिर कुल राजस्वले साधारण खर्च धान्न सकेको छैन । साधारण खर्च धान्न कुल राजस्वको करिव २० प्रतिशत अपुग छ । साधारण खर्च धान्न २ खर्ब रुपैयाँ र ऋणको साँवा व्याज तिर्न १ खर्ब रुपैयाँ गरी वार्षिक करिब ३ खर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्थामा नेपाल पुगेको छ ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै ५७ अर्ब २४ करोड ऋण थपिएको छ । कूल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४० प्रतिशत नाघ्नुलाई खतराको संकेत मानिन्छ । तर, नेपालको ऋण जीडीपीको अनुपातमा ४३ प्रतिशत नाघेको छ ।

विकास निर्माणका काम गर्न त पूरै ऋण तथा वैदेशिक सहयोगमै भर पर्नुपर्ने अवस्था छ । तर, वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका कतिपय भौतिक पूर्वाधारहरु प्रयोगमा आउन सकेका छैनन् । उदाहरणका लागि भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थल, चोभारमा निर्मित सुख्खा बन्दरगाहलगायतलाई लिन सकिन्छ ।

अर्थतन्त्र धरापमा परेका सार्क क्षेत्रका दुई देशहरु श्रीलंका र पाकिस्तान यतिबेला निकै चर्चामा छन् । खराब अर्थतन्त्रको उदाहरण दिनुपरे यी दुई वटा देशको नाम लिने गरिन्छ । तर, परिस्थिति यस्तै रहेमा केही वर्षभित्रै नेपालले श्रीलंका तथा पाकिस्तानको भन्दा पनि खराब हालत व्यहोर्नुपर्ने अवस्था छ । किनकि भौतिक पूर्वाधार निर्माणमा भएको लगानीले प्रतिफल दिन नसकेका कारण श्रीलंकाको आर्थिक हालत खराब बनेको हो । यसबाहेक श्रीलंकाको अर्थतन्त्रमा अरु खासै ठूला समस्या छैन । पाकिस्तानको आर्थिक हालत खराब बनेको राजस्वमा आएको गिरावटले हो । यसबाहेक अरु खासै ठूला आर्थिक संकट पाकिस्तानमा छैन ।

तर, नेपाल भने एकैचोटी धेरैतिरबाट थिलथिलो परेको छ । पाकिस्तानको जस्तै नेपालमा पनि राजस्व संकलनमा व्यापक गिरावट आएको छ । श्रीलंकामा जस्तै नेपालमा पनि ऋण लिएर निर्माण गरिएका भौतिक पूर्वाधारहरु प्रयोगविहीन अवस्थामा छन् । आम्दानी निरन्तर घटिरहेको छ । खर्च बढेको बढेयै छ । यस्तो अवस्थामा परम्परागत ढर्राबाटै अर्थमन्त्री नियुक्ति गर्नु भनेको लोकतन्त्रलाई दाउमा लगाउनु त हुँदै हो, मुलुकलाई समेत दाउमा लगाउनु हो । हाम्रो मुलुकले यतिबेला खोजेको आर्थिक उद्धारकर्ता हो ।

अरु मन्त्रालयमा भागबन्डा, लोभलालच गरे पनि अर्थको जिम्मेवारी दिने मामिलामा भने राजनीतिक योगदानलाई मात्रै नहेरी विज्ञता र सामथ्र्यलाई आधार बनाउन सत्तारुढ सबै दलहरुबीच सहमति हुनु जरुरी छ । यो मामिलामा प्रधानमन्त्री प्रचण्ड अझै गम्भीर बन्नु जरुरी देखिन्छ । किनकि प्रचण्डलाई अब असफल हुने छुट छँदैछैन ।

अर्थको जिम्मेवारी दिने मामिलामा भने राजनीतिक योगदानलाई मात्रै नहेरी विज्ञता र सामर्थ्यलाई आधार बनाउन सत्तारुढ सबै दलहरुबीच सहमति हुनु जरुरी छ । यो मामिलामा प्रधानमन्त्री प्रचण्ड अझै गम्भीर बन्नु जरुरी देखिन्छ । किनकि प्रचण्डलाई अब असफल हुने छुट छँदैछैन ।

पहिलो पटक प्रधानमन्त्री हुँदा ‘ब्याक फायर’मा परें भनेर उनले स्वीकार गरिसकेकै छन् । दोस्रोपटक प्रधानमन्त्री हुँदा संविधान कार्यान्वयनमा प्रचण्डको योगदान उल्लेखनीय छ । प्रचण्डका लागि यो तेस्रो कार्यकाल भनेको आर्थिक उद्धारको एजेण्डालाई सफलीभूत बनाउने सुनौलो अवसर हो । आर्थिक उद्धारबाहेक यतिबेला प्रधानमन्त्री प्रचण्डसामु अर्को एजेण्डा छँदैछैन भन्दा हुन्छ । जसरी यसअघि प्रधानमन्त्री नियुक्त हुँदा देउवाले भनेका थिए- ‘मेरो पहिलो प्राथमिकता कोरोनाको खोप, दोस्रो प्राथमिकता कोरोनाको खोप, तेस्रो प्राथमिकता पनि कोरोनाको खोप नै ।’ यसै गरी वर्तमान प्रधानमन्त्री प्रचण्डले अब ढिलो नगरी घोषणा गर्नुपर्छ- ‘मेरो पहिलो प्राथमिकता अर्थतन्त्रको उद्धार, दोस्रो प्राथमिकता अर्थतन्त्रको उद्धार, तेस्रो प्राथमिकता पनि अर्थतन्त्रको उद्धार । त्यसका लागि अर्थ मन्त्रालयको जिम्मेवारी विनोद चौधरी ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने सन्दर्भमा अब समय खेर नफाल्दा हुन्छ । विगतको शैलीबाट गरिने अर्थमन्त्रीको नियुक्तिले अब मुलुकको भविष्य छैन भन्ने कुरामा उनीहरु स्पष्ट हुन जरुरी छ ।

अर्थतन्त्र भनेको मुलुकको धमनी हो । अर्थतन्त्र चौपट हुनु भनेको मुलुक चौपट हुनु हो । आर्थिक संकट सन्नीकट आइसकेको मुलुकका प्रमुख राजनीतिक दल तथा नीति निर्माताहरुले थाहा पाइसकेका छन् र उनीहरु गम्भीरसमेत देखिएका रहेछन् भन्ने सन्देश जनतालाई दिन कति पनि ढिला गर्नुहुँदैन । नेकपा एमाले सरकारबाट बाहिरिएपछि एउटा गल्ती त प्रचण्डले गरिसकेका छन् । विशेष कारणले गर्दा प्रायः सबै मन्त्रालय प्रधानमन्त्री स्वयंले जिम्मा लिनुपर्ने परिस्थिति आएको हो । तर, यो परिस्थिति आएको छ भन्दैमा यस्तो संकटको घडीमा अर्थ मन्त्रालयलाई मन्त्रीविहीन बनाउनु हुँदैनथ्यो ।

यस्तो अवस्थामा अर्थ मन्त्रालयलाई समेत भगवान भरोषेका रुपमा छाड्नुलाई राम्रो मान्न कदापि सकिँदैन । कुशल व्यक्तिले अर्थ मन्त्रालय नसम्हालेका कारण पनि कतिपय संकट उत्पन्न भएका हुन् । उदाहरणका लागि राजस्व संकलनमा आएको गिरावटलाई लिन सकिन्छ । वैदेशिक मुद्राको सञ्चिती कम भएको कारण देखाएर सरकारले केही वस्तु आयातमा प्रतिबन्ध लगायो । जसका कारण राजस्व संकलनमा गिरावट आयो । तर, प्रतिबन्ध लगाइएका वस्तुहरु नेपाली बजारमा तस्करीको मार्गबाट छ्यापछ्याप्ती भए । एकातिर राजस्व गुम्यो, अर्कातिर विदेशी मुद्रा चोर बाटोबाट पलायन भयो ।

प्रतिफल दिने सुनिश्चित नभएका आयोजनामा बजेट विनियोजन गर्दा पूँजी खेर गयो । त्यसैले कम्तीमा पनि अब अर्थमन्त्री नियुक्त गर्दा दलीय भागबन्डा तथा राजनीतिक पुरस्कारका रुपमा होइन कि विज्ञताका आधारमा गर्नुपर्छ । अर्थ मन्त्रालयको नेतृत्व कुशल आर्थिक विज्ञले नै गर्नुपर्छ भन्ने हेक्का प्रधानमन्त्री प्रचण्ड तथा सत्ता घटक दलका शीर्ष नेताहरुले राख्नु जरुरी छ । किनकि कर्णप्रिय भाषणले मात्रै अर्थतन्त्र तङ्ग्रन सक्दैन । बरु भाषण गर्न नजान्ने होस् । तर, अर्थतन्त्रका सबै आयामहरु बुझेको होस् ।

(लेखक नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवं नेपाल प्रेस युनियन नवलपरासीका जिल्ला अध्यक्ष हुन् ।)

प्रतिक्रिया

2 thoughts on “काबिल अर्थमन्त्रीको योग्यता योगदान कि ज्ञान ? अर्थतन्त्र सम्हाल्न अब परीक्षणको मौका छैन

  1. हेर दलाली समाचार । यो पेड समाचार किन होईन भन्ने ? जो व्यक्ति गैरकानूनी रूपमा, कानुनका छिद्र प्रयोग गरेर नेपालको भएभरको पैसा विदेश लान्छ त्यस्तालाई अर्थमन्त्री बनाएर देशको विकास हुन्छ भनेर पुष्टि गर्न यति लाम‍ो लेख लेख्छ भने यस्ता पत्रकारबाट जनताले के आश गर्ने ?

  2. यो आलेखमा विनोद चौधरिको तस्वीर राखेर के भन्न खोजेको हो? के अर्थ निकाल्ने? यस्तै यस्तै समाचार अनि लेखले नेपालप्रेसको पनि ओरालो यात्रा शुरु हुने हो कि भन्ने डर भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *