सरकारले संसदमा पेस गरेको टीआरसी विधेयकमा के छ ? – Nepal Press

सरकारले संसदमा पेस गरेको टीआरसी विधेयकमा के छ ?

विधेयकमार्फत मूल ऐनमा व्यापक हेरफेर, गम्भीर मानव अधिकार उल्लंघनसम्बन्धी मुद्दा किनारा लगाउन विशेष अदालत गठन प्रस्ताव

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक पेस गरेको छ । संक्रमणकालीन न्यायको विषयलाई लिएर दर्ता गर्न खोजिएको रिटमा सर्वोच्च अदालतले सुनुवाइको प्रक्रिया अगाडि बढाएपछि सरकार तातेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता भएर कारण देखाऊ आदेशसमेत जारी भइसकेको छ । सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएपछि सरकारले तत्कालै ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

मूल ऐनमा रहेको अस्पष्टताका कारण ८ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी काम टुंगोमा पुर्‍याउन नसकिएको भन्दै विधेयकमार्फत संशोधन गर्न खोजिएको हो । यसअघि दुईपटक ऐन संशोधन भइसकेको थियो ।

द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाको सत्य तथ्य पहिचान, पीडितलाई न्याय, पीडित र पीडकबीच मेलमिलाप तथा पीडकलाई कारबाहीको प्रक्रियासम्म अगाडि बढाउन २०७१ सालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन जारी भएको थियो । त्यसकै आडमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग पनि गठन भएका थिए ।

विधेयकमार्फत मूल ऐनमा व्यापक हेरफेर गरिएको छ । मूल ऐनमा भएको ‘मानव अधिकारको गम्भीर उल्लंघन’ भन्ने स्थानमा ‘मानव अधिकारको उल्लंघन वा मानव अधिकारको गम्भीर उल्लंघन’ राख्न प्रस्ताव गरिएको छ । मूल ऐनमा रहेको मानव अधिकारको गम्भीर उल्लंघनलाई विधेयकमार्फत अर्थपूर्ण रूपमा वर्गीकरण गर्न खोजिएको हो ।

विधेयकमा मानव अधिकारको गम्भीर उल्लंघनका पीडकलाई मात्र मुद्दा चलाउन सिफारिस गरिने उल्लेख छ । मूल ऐनको दफा २ को खण्ड ‘ञ’ लाई पूरै हटाएर अर्को खण्ड ‘ञ’ राखिएको छ ।

यसअघि मूल ऐनको दफा २ को खण्ड ‘ञ’ मा हत्या, अपहरण तथा शरीर बन्धक बनाउने, व्यक्ति बेपत्ता बनाउने, अंगभंग गर्ने वा अपाङ्ग बनाउने, शारीरिक तथा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी गर्ने, घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापित गर्ने वा अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानूनविपरीत गरिएका जुनसुकै कार्यलाई मानव अधिकारको गम्भीर उल्लंघन मानिने भनेर परिभाषित गरिएको थियो ।

तर, विधेयकमार्फत कस्ता-कस्ता घटनालाई मानव अधिकार उल्लंघन र कस्तालाई मानव अधिकारको गम्भीर उल्लंघन मान्ने भनेर छुट्याइएको छ । हत्या, यौनजन्य हिंसा, शारीरिक वा मानसिक यातना, अपहरण तथा शरीर बन्धक बनाउने, गैरकानूनी थुनामा राख्ने, कुटपिट गर्ने, अंगभंग गर्ने वा अपाङ्ग बनाउने, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी गर्ने, घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापित गर्ने वा अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानूनविपरीत गरिएका जुनसुकै कार्यलाई मानव अधिकारको उल्लंघन मानिने भनेर परिभाषित गरिएको छ ।

यस्तै मानव अधिकारको गम्भीर उल्लंघन भन्नाले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, जबरजस्ती करणी गरेको, जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्य र अमानवीय वा क्रूरतापूर्वक दिएको यातना भन्ने बुझिने उल्लेख छ ।

मूल ऐनको दफा २ मा रहेको खण्ड ‘ट’ हटाउन प्रस्ताव गरिएको छ । खण्ड ‘ट’ मा ‘बेपत्ता पार्ने कार्य’ भन्नाले के हुने भन्ने उल्लेख थियो । मूल ऐनको दफा २६ मा आयोगले पीडकलाई क्षमादानका लागि सिफारिस गर्नसक्ने र कतिपय गम्भीर प्रकृतिका पीडक पनि यसमा पर्नसक्ने आशय थियो । तर, संशोधनको प्रस्तावअनुसार मानव अधिकारको गम्भीर उल्लंघनका पीडकलाई क्षमादानका लागि सिफारिस नगरिने उल्लेख छ ।

मूल ऐनको दफा २९ ले मुद्दा दायरसम्बन्धी व्यवस्था गरेको थियो । त्यसमा विशेष अदालत भनिए पनि त्यसबारे विस्तृत थिएन । तर, संशोधनको प्रस्तावअनुसार दफा २९ मा मानव अधिकारको गम्भीर उल्लंघनको आरोपमा दोषी देखिएका पीडकउपर मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयलाई सिफारिस गर्ने उल्लेख छ ।

महान्यायाधिवक्ता कार्यालयले आयोगबाट सिफारिस प्राप्त भएको मितिले एक वर्षभित्र मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नुपर्ने भनिएको छ । त्यसका लागि आधार र कारणसमेत खुलाउनुपर्ने प्रस्तावित संशोधनमा उल्लेख छ । यस्तै महान्यायाधिवक्ता कार्यालयले मुद्दा दर्ता गर्नुपर्ने अवस्थामा प्रचलित ऐनबमोजिमको सजायमा घटी सजाय हुने गरी मागदाबी लिन सक्ने पनि उल्लेख छ ।

विधेयकमा उल्लेख भएअनुसार नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सशस्त्र द्वन्द्वका क्रममा घटेका मानव अधिकारको गम्भीर उल्लंघनसँग सम्बन्धित मुद्दाको कारबाही र किनारा गर्न न्याय परिषद्को परामर्शमा तीन सदस्यीय एक विशेष अदालत गठन गर्नेछ । उक्त अदालतको अध्यक्ष र सदस्यमा सरकारले न्याय परिषद्को परामर्शमा उच्च अदालतका न्यायाधीशहरुमध्येबाट तोक्ने भनिएको छ ।

प्रस्तावित संशोधनमा जिल्ला वा पुनरावेदनमा चलिरहेको मुद्दा सरेको अवस्था भए विशेष अदालतले त्यसअनुसारको जिल्ला अदालत वा पुनरावेदन अदालतको भूमिका निर्वाह गर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर