रुपन्देहीका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन, आपसी विवादले ६ वटामा ढिलाई – Nepal Press

रुपन्देहीका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन, आपसी विवादले ६ वटामा ढिलाई

बुटवल क्याम्पसमा ७ हजार मतदातामध्ये २६ सयले मात्रै गरे मतदान

रुपन्देही । विद्यार्थी संगठनहरुबीच विवाद भएका कारण स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने तय भएकामध्ये रुपन्देहीका १२ क्याम्पसमध्ये ६ वटामा मात्रै आज मतदान भएको छ । आज निर्वाचन भएकामध्ये १ वटाको नतिजा आइसकेको छ भने अन्य ५ वटामा मतगणना सुरु भएको छ । मतगणना सकिएको छपियास्थित जनता कलेजमा नेविसंघको प्यानल विजयी भएको छ ।

पश्चिम क्षेत्रकै ठूलो र पुरानो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा मतदान शान्तिपूर्वक भएको छ । बहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु चुनावअन्तर्गत मतदान भएको हो । यसअघि २०६५ को स्ववियु चुनावमा मतदान भए पनि मतगणनाका क्रममा मतपत्र च्यातिएपछि नतिजा आएको थिएन । यहाँ ७ हजार १ सय मतदाता रहेका्ेमा जम्मा २६८१ जनाले मतदान गरेका छन् ।

२०७३ सालमा मनोनयनका क्रममा विवाद भएपछि स्ववियु चुनाव हुन सकेको थिएन । आज विद्यार्थीहरु उत्साहपूर्वक चुनावमा सहभागी भएका छन् । बहुमुखी क्याम्पसको गेटमा उमेदवार तथा विद्यार्थीहरुले आआफ्ना पक्षमा मत मागिरहेका थिए ।

सबै दलका मुख्य नेताहरुले बहुमुखी क्याम्पसको चुनावप्रति चासो देखाउँदै जिल्ला तहदेखि केन्द्रीय नेताहरु क्याम्पसमा पुगेका थिए । पूर्व स्ववियु पदाधिकारी तथा पूर्व विद्यार्थी नेताहरुको पनि क्याम्पसमा बाक्लो उपस्थिति थियो । हाल नेकपा एमाले पोलिट्ब्यूरो सदस्य रहेका ०४९ सालका स्ववियु सभापति खिमलाल भट्टराई पनि बहुमुखी क्याम्पसको चुनाव अनुगमनमा पुगेका थिए ।

तीन दशकदेखि लगातार अनेरास्ववियुले जितिरहेको यो क्याम्पसमा उसले आफ्नो विरासत कायम राख्ने जनाएको छ भने अन्य प्रतिस्पर्धी संगठनले आफ्नो जित हुने दावी गरेका छन् । मुख्य संगठनहरु यहाँँ अलग अलग चुनावी मैदानमा छन् । अध्यक्षमा ६ जना उम्मेदार भने । एमाले निकट अनेरास्ववियुलाई अखिल छैठौले साथ दिएको छ ।

बुटवल बहुमुखीबाहेक रुपन्देहीका सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, कञ्चनको हरैया बहुमुखी क्याम्पस, देवदहको देवदह आदर्श, शुद्धोधनको यज्ञोदय दुधनाथ र सियारीको छपिया जनता कलेजमा मतदान सम्पन्न भएको छ ।

चुनाव हुने तय भएका अन्य कतिपय क्याम्पसमा भने मनोनयन दर्तासमेत हुन सकेन। बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, तिलोत्तमाको राममणी क्याम्पस, गिर्वाण संस्कृत क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, ओमसतियाको पक्लिहवा कृषि क्याम्पसमा विद्यार्थी संगठनहरुले ताला लगाएका कारण मतदान हुन सकेन ।

विद्यार्थी संगठनहरु स्ववियु चुनाव गर्ने प्रतिवद्धतामा राजी भएपनि विभिन्न कलेजमा भएको विवाद समाधान गर्न सकेका छैनन् । लुम्बिनी वाणिज्य क्याम्पसमा नेविसंघले ताला लगाएको छ भने राममणि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको लडाईले विवाद बढेको छ । भैरहवा क्याम्पसमा ८ गते निर्वाचन मिति तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर