‘ग्रेटर नेपाल’ प्रति समर्थन माग्दै चिनियाँ राष्ट्रपतिलाई पत्र – Nepal Press

‘ग्रेटर नेपाल’ प्रति समर्थन माग्दै चिनियाँ राष्ट्रपतिलाई पत्र

काठमाडौं । तेस्रो कार्यकालका लागि जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा चयन भएका सी चिनफिङलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाउँदै ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ ।

सन् १८१६ मार्च ४ मा नेपालले गुमाएको ६० हजार वर्ग किलोमिटरभन्दा बढी जमिन फिर्ता पाउनुपर्ने विषयमा मोर्चाले चिनियाँ राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।

मोर्चाले राष्ट्रपति सीसमक्ष यसलाई कसैको विरोधका रूपमा नभएर नेपालीमात्रको अन्तरात्माको आवाजका रूपमा लिइदिन अनुरोधसमेत गरेको छ ।

हङकङ र मकाउको शान्तिपूर्ण एकीकरण गरी चीनले आफ्नो राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको ऐतिहासिक घटनालाई नेपालीले अत्यन्त चासोका साथ हेर्दै र समीक्षा गर्दै आइरहेको भन्दै पत्रमा यो नेपालीका लागि सधैं प्रेरणाको स्रोत बनेर रहेको उल्लेख छ ।

‘चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सीको चयन चिनियाँ जनताका लागि जति हर्षको कुरा हो, नेपालीका निम्ति पनि उत्तिकै रोमाञ्चक घटना हो’, पत्रमा भनिएको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले हङकङ र मकाउ फिर्ता लिनसक्ने चीनले ग्रेटर नेपालका पक्षमा नैतिक समर्थन गर्ने आशा गरेको बताए । आफूले चीनसँग पैसा र हतियार होइन समान विषयमा उस्तै धारणाको अपेक्षामात्र गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर