रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता नलिए आन्दोलन गर्ने किसान महासंघ कर्णालीको चेतावनी – Nepal Press

रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता नलिए आन्दोलन गर्ने किसान महासंघ कर्णालीको चेतावनी

सुर्खेत । अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेश समितिले सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बिहीबार समितिले सरकारले फागुन २६ गते गरेको अनुदान कटौतीको निर्णयमा असन्तुष्टि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्णय सच्याउन माग गरेको छ ।

समितिले आफ्ना माग यथाशीघ्र पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । महासंघले चैत ३ गते प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाउने र जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी आवश्यकताका आधारमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

संघका कर्णाली अध्यक्ष बखतबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा संगठनले किसानले १४ रुपैयाँमा खरिद गर्दै आएको युरियाको मूल्य २५ रुपैयाँ पुर्याएको प्रति आपत्ति रहेको उल्लेख छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘किसान महासंघले ४३ रुपैयाँको डिएपी रुपैयाँ ५० र ३१ रुपैयाँको पोटास ४० रुपैयाँको भएको छ । मलमा भएको यसप्रकारको अनुदान कटौतीको निर्णयले कृषि मूल्यवृद्धि भइ उपभोक्ता समेतलाई मार पर्ने स्थिति देखिन्छ । खेतीको समयमा प्राय मलको अभाव खेपिरहेका किसानलाई अझ समस्यामा धकल्ने गरी आएको अनुदान कटौतीको निर्णयले किसान र कृषिलाई थप निरुत्साहित गरेको छ ।’

यस्तै, अध्यक्ष भण्डारीले सरकारको निर्णयले देशका ६० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्ताहरुमा गम्भीर असर पारेको बताए । उनले भने, ‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरुलाई नै मार पर्ने गरी गरेको यसप्रकारको निर्णयप्रति किसान संगठनहरु खेद प्रकट गर्दै घोर भर्त्र्सना गर्दछौँ ।’

महासंघका कर्णाली प्रदेश सचिव धर्मराज ढुंगानाले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिँदै आएको एकमात्र अनुदान कटौती गर्ने निर्णय असंवेदनशील र गैरजिम्मेवार निर्णय भएको भन्दै अविलम्ब फिर्ता लिनका लागि संगठनले सरकारसँग जोडदार माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *