मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू (भिडिओ) – Nepal Press

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू (भिडिओ)

काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दलनिकट किसान संगठनहरूले आन्दोलन थालेका छन् ।

एमालेनिकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनलगायतले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरूले नेपाली किसानको बजार सुनिश्चित गर, किसान मार्न पाइँदैन-प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार-राजीनामा देऊ कम्फर्टेबल सरकारलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

वर्तमान सरकारले किसानविरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् । अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरूको छ ।

सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।

वुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

किसानसम्बद्ध संग-संगठनले भोलि शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका कार्यक्रम गर्ने निर्णय गरेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए ।

उनले किसानलाई राहत दिनका लागि सुरु गरिएको सो आन्दोलन आफूहरुको माग पूरा नभएसम्म जारी रहने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर