सात हजार विद्यार्थीको नेतृत्व गर्न बुटवल क्याम्पसमा ६ जना प्रत्याशी – Nepal Press

सात हजार विद्यार्थीको नेतृत्व गर्न बुटवल क्याम्पसमा ६ जना प्रत्याशी

रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै विद्यार्थीले अध्ययन गर्ने बुटवल बहुमुखी क्याम्पसमा २०४९ सालदेखि एमाले निकट अनेरास्ववियुले निरन्तर आफ्नो वर्चस्व कायम राखेको छ ।

अहिले पनि ठूला विद्यार्थी संगठनहरुले अलग अलग उम्मेदवारी दिएपछि उसलाई वर्चस्व कायम राख्न सहज भएको छ । संगठनात्मक हिसाबले बलियो रहेको अनेरास्ववियुले अखिल छैटौँसँग तालमेल गरेकाले पनि थप सहज भएको छ ।

चैत ५ गते हुने निर्वाचनका लागि प्रमुख तीन दलका विद्यार्थी संगठन छुट्टाछुटै प्रतिस्पर्धामा उत्रिएका छन् भने अन्य केही संगठनहरु पनि चुनावी मैदानमा रहेका छन् । ७ हजारभन्दा बढी मतदाता रहेको क्याम्पसमा अध्यक्षका लागि ६ जना मैदानमा रहेका छन् । उम्मेदवार धेरै भएपनि एमालेको अनेरास्ववियु, कांग्रेसको नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएकाले उनीहरूमध्ये नै प्रतिस्पर्धाको आंकलन गरिएपनि नयाँ धारले गत संसदीय निर्वाचनमा पारेको प्रभावले यहाँपनि प्रभावित पार्नसक्ने विद्यार्थी समर्पण न्यौपाने बताउँछन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार एमाले निकट अखिलले अध्यक्षमा दुर्गाबहादुर एमसी र सचिवमा निलकण्ड पाण्डे, नेपाली कांग्रेस निकट नेविसंघले अध्यक्षमा सागर पौडेल र सचिवमा माधव खत्रीलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले अध्यक्षमा शिवबहादुर खवास र सचिवमा विशाल पौडेललाई उम्मेदवार बनाएको छ ।

अखिल (क्रान्तिकारी) बहुमतले अध्यक्षमा पारस राहादी र सचिवमा सुनिल नेपालीलाई उठाएको छ भने विप्लवनिकट अखिलले अध्यक्षमा पदम पराजुली र सचिवमा सुस्मीता वेल्वासेलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी(ख)ले अध्यक्षमा बरन्यम राज गौतम र सचिवमा राजन पाण्डेलाई उम्मेदवार बनाएको छ ।

त्रिविको निर्वाचन निर्देशिका अनुसार क्याम्पसमा रहेको मतदाताका आधारमा कार्यसमितिको संख्या हरेक क्याम्पसमा तोक्ने प्रावधान रहेको छ । जसमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्षमा, सचिव, कोषाध्यक्ष र ६० प्रतिशत सदस्य निर्वाचित हुने र बाँकी समानुपातिकबाट निर्वाचित हुनेछन् । जसअनुसार बुटवल क्याम्पसमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्षसहित ११ जना चुनिने भएका छन् । त्यसअनुसार अखिल, नेविसंघ, अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूह(ख)ले मात्र सबै पदमा उम्मेदवारी दिएका छन् ।

संगठनात्मक हिसाबले ठूलो मानिएको अनेरास्ववियु–अखिल छैठौंको प्यानलमा दुर्गाबहादुर एमसी अध्यक्ष, निलकण्ड पाण्डे सचिव, शशांक बस्याल कोषाध्यक्ष तथा सदस्यहरूमा नवीन खनाल, सूचना भण्डारी, सुनिल सार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी, प्रज्वल बस्नेत र विवेक कुँवर उम्मेदवार रहेका छन् ।

नेविसंघबाट अध्यक्ष सागर पौडेल, सचिवमा माधव खत्री क्षेत्री, कोषाध्यक्षमा सम्झना पंगेनी र सदस्यहरूमा विपिन्द्र पाण्डे, उमेश पछाई, नवीन पाण्डे, प्रयास आचार्य, प्रशंसा पन्थी, सन्देश पोखरेल, नारायणप्रसाद पाण्डे र गौतम पन्थी छन् भने अखिल (क्रान्तिकारी)बाट अध्यक्षमा शिवबहादुर खवास, सचिवमा विशाल पौडेल, कोषाध्यक्षमा सपना फुल्देल र सदस्यहरूमा हिमबहादुर बुढा मगर, सुशील नेपाली, सुदिप भुसाल, तुलाराम केसी, सपना पुरी, दिनेश महतरा र सिजन नेपाली उम्मेदवार बनेका छन् ।

एमाले निकट विद्यार्थी संगठनका नेता बालकृष्ण पाण्डेले बुटवल क्याम्पसमा संगठनात्मक हिसाबले पहिलेदेखि नै सशक्त रहेको र छैटाैंको समेत मत थपिँदा फराकिलो मतान्तरले आफ्नो वर्चस्व कायम राख्ने बताए ।

स्ववियु निर्वाचन अधिकृत कुलानन्द पाण्डेका अनुसार बुटवल बहुमुखी क्याम्पसमा कुल मतदाता संस्था ७ हजार १ सय १० रहेका छन् र २१ सदस्यीय स्ववियु कमिटीका लागि निर्वाचन हुनेछ । जसमा ११ जना प्रत्यक्ष निर्वाचनबाट र १० जना समानुपातिकबाट चुनिनेछन् । निर्वाचनमा करिब ३ हजारको हाराहारीमा मत खस्ने अनुमान छ ।

के छन् चुनावी एजेन्डा ?

स्ववियु निर्वाचनको मिति नजिकिँदै जाँदा विद्यार्थी संगठन तयारीमा जुटेका छन् । २०६५ सालपछि बल्ल निर्वाचन हुन लागेकोले विद्यार्थी संगठन र नेताहरू विशेष उत्साहका साथ खटिएको भेटिन्छन् ।

विद्यार्थी संगठनले आफ्ना एजेण्डासहित मत माग्न थालेका छन् । उनीहरू चुनावी घोषणापत्र बनाएर प्रसार प्रसारमा लागेका छन् । सबै संगठनहरुले समग्र शैक्षिक सुधार र क्याम्पसका समस्याहरुलाई चुनावी मुद्दा बनाएका छन् ।

बुटवल क्याम्पसभित्रका चुनावी नाराहरु भाषागत रुपमा फरक भएपनि सारमा सबैले एकै प्रकारले समस्या रहेको र त्यसको समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । जसमा पुस्तकालयको राम्रो व्यवस्था, नियमित पठनपाठन, सफा पानी, शुल्क घटाउने, विद्यार्थी कल्याणकोषको रकमको सहि सदुपयोग, दुर्गमका विद्यार्थीलाई छात्रावासको सुविधा, खेल मैदान, भौतिक संरचनासहितका कक्षा कोठा लगायतका मुद्दा रहेका छन् ।

बुटवल बहुमुखी क्याम्पस नेपालको विद्यार्थी आन्दोलनको अग्र पङ्क्तिमा भेटिन्छ । पञ्चायती व्यवस्थामा तत्कालीन मण्डलेहरूको दबदबा रहेको समयमा बहुदलवादी विद्यार्थीहरूले उनीहरूसँग भिडेर यो क्याम्पसलाई कब्जामा लिएका थिए । अहिले पनि सो क्याम्पस स्ववियु निर्वाचनका समयमा विद्यार्थी संगठनहरुका लागि अस्तित्वको लडाई लड्ने थलो बनेको छ ।

पार्टी राजनीतिको आधार विद्यार्थी राजनीतिलाई लिइने भएकाले स्ववियु निर्वाचनले राजनीतिक दलका नेतृत्वको पनि ध्यान केन्द्रित गरेको छ । राजनीतिक दलले आफ्नो ध्यानलाई स्ववियुको निर्वाचन केन्द्रित बनाउन थालेका छन् ।

चैत ५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम फागुन २७ गते नै सकिएको हो । निर्वाचनबाट सभापति, सचिव, कोषाध्यक्ष र ६० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । अन्य पदमा समानुपातिक प्रक्रियाबाट छनोट हुने प्रावधान छ । चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

राजनीतिमा मूलधारका राजनीतिक दलहरुप्रति देखिएको वितृष्णा विद्यार्थीको स्ववियु निर्वाचनमा देखिने संकेत विद्यार्थीहरूले गरेका छन् । विद्यार्थी संगठनले स्ववियुमार्फत क्याम्पसको चौतर्फी विकासमा भूमिका खेल्ने दाबी गरे पनि भनाइ र गराइ फरक हुने गरेको मतदाता विद्यार्थीहरू बताउँछन् ।

‘नाम मात्रैका विद्यार्थी संगठन भए । हाम्रा समस्या समाधान भएका छैनन् । विद्यार्थीको हकहितमा विद्यार्थी संगठन ध्यान कम जाने गरेको छ ।’ विद्यार्थी विपिन ज्ञवालीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर