विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एक ठाउँमा रहनुपर्छ : विष्णु पौडेल – Nepal Press

विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एक ठाउँमा रहनुपर्छ : विष्णु पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकठाउँमा रहनुपर्ने बताएका छन् । वुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानको १०० औं शृंखला मूल समारोहमा उनले यस्तो बताएका हुन् ।

रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य रहेका पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरुलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे ।

सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभा सदस्य एवं तिलोत्तमाका पूर्वनगर प्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए ।

आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिए ।

बागमती सरसफाई महाअभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहोरमैलाको दीगो व्यवस्थापन हुने बताए । उनले सबै कर्तव्यनिष्ठ भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै फोहोर कम उत्पादन, पुनः प्रयोग र प्रशोधनमा समेत ध्यान पुर्याउनुपर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताए ।

सो अवसरमा हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्व नगरप्रमुख बासुदेव घिमिरे र विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर