रुपन्देही सुपर लिग : वेस्टर्न २०६ रनले विजयी – Nepal Press

रुपन्देही सुपर लिग : वेस्टर्न २०६ रनले विजयी

रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको सुपर फोरको खेलमा बीएमडब्लु वेस्टर्न क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लबमाथि सानदार जीत निकालेको छ । वेस्टर्नले २०६ रनको फराकिलो अन्तरले जीत निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा ३०१ रनको उच्च योगफल बनाएको थियो । उसका लागि देव खनालले शतकीय पारी खेल्दै ११६ रनको योगदान गरे ।

यस्तै रोहित पासवानले २९, अनिल खरेलले २७, सुशान्त अर्यालले २१, अनिल साहले १८ र भुवन पाण्डेले १६ रन जोडे ।

बलिङमा मेलवर्नका तुसार चौहानले ३, रमेश कुर्मी र रोशनलाल गुप्ताले समान २-२ तथा विष्णु कटरिया र शिवकुमार मौर्यले १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्न २४.१ ओभरमा अलआउट हुँदै ९५ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा वेस्टर्नका देव खनालले ४, अभिषेक गौतमले २ तथा सन्देश थापा, अनिल खरेल र अनिल साहले समान १-१ विकेट लिए ।

मेलवर्नका मोहम्मद हुसेनले ३९ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । वेस्टर्नका देव खनाल म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ४ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर