रसिद भर्सेस सन्दीप: एक दिवसीयमा यस्तो छ विकेट रफ्तार – Nepal Press

रसिद भर्सेस सन्दीप: एक दिवसीयमा यस्तो छ विकेट रफ्तार

काठमाडौं । सन् २०१८ अघि  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बलरले सबैभन्दा छिटाे ५२ खेलमा सय विकेटकाे काेसेढु‌ंगा पार गरेकाे  इतिहास थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सन् २०१६ मा उक्त सफलता हात पारेका थिए ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको ६ वर्षपछि स्टार्कको एक सय एक दिवसीय अन्तर्राष्ट्रिय विकेट पूरा भएको थियो । उनले पाकिस्तानका सक्लेन मुस्ताकको नाममा रहेको १९ वर्ष पुरानो विश्व कीर्तिमान तोडेका थिए । तर, स्टार्कको कीर्तिमान तोडिन लामो समय लागेन ।

अफगानिस्तानका स्पिनर रसिद खानले २ वर्षमै नयाँ कीर्तिमान बनाए, त्यो पनि स्टार्कभन्दा ८ खेल कम खेलेर । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० भन्दा कम खेलमा एक सय विकेट पूरा गर्ने पहिलो बलर बनेका रसिदको उक्त विश्व कीर्तिमान अब चाँडै तोडिन सक्छ । नेपालका स्पिनर सन्दीप लामिछानेले रसिदको कीर्तिमान तोडेर नयाँ रेकर्ड कायम गर्ने सम्भावना बलियाे छ ।

सन्दीपले अब बढीमा ३ खेलभित्र २ विकेट लिएमा रसिदको विश्व कीर्तिमान तोडिनेछ । उल्लेखनीय के छ भने सन्दीपले पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका छन् । उनले पछिल्ला १० खेलमा मात्र २९ विकेट हात पारेका छन् ।

अघिल्लो खेलमा उनले सोमबार पपुआ न्युगिनीविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप लिग-२ अन्तर्गत बिहीबार नेपालले यूएईसँग खेल्ने खेल विशेष हुने पक्का छ ।

त्रिवि क्रिकेट मैदानमा हुने यो खेल नेपालले जितेमा एक दिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउनेछ । त्यस्तै कम्तीमा २ विकेट लिए सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउनेछन् ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेका पछिल्ला ११ मध्ये १० खेल जितेको छ । यस्तै यूएईसँग भएका पछिल्ला ५ खेलमध्ये ४ वटा जितेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले खेलेका एक दिवसीय अन्तर्राष्ट्रियमा ९ खेलयता लगातार जीत हात पारेको छ ।

नेपालले सन् २०१८ मा पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा सन्दीप पनि टोलीमा थिए । त्यसै वर्ष उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिएका छन् ।

रसिद पछिल्ला ७/८ वर्षमा विश्वभर तहल्का मच्चाइरहेका स्पिनर हुन् । अफगानिस्तान आईसीसीको एसोसिएट सदस्य रहेकै बेला पनि रसिदले विश्वका होनहार बलरलाई चुनौती दिइरहेका थिए । सन् २०१७ मा अफगानिस्तानले टेस्ट मान्यता पाएपछि रसिदले आफू फक्रने अझ ठूलो प्लेटफर्म पाएका थिए ।

 यसअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम खेलमा ५० विकेट पूरा गर्ने खेलाडीका रूपमा सन्दीप दोस्रो स्थानमा रहेका थिए । उनले २२ खेलमा उक्त सफलता हात पारेका थिए । श्रीलङ्काका अजन्था मेन्डिसको नाममा १९ खेलको विश्व कीर्तिमान रहेको छ । यही सफलता प्राप्त गर्न रसिदले २६ खेल खेल्नु परेको थियो । तर, रसिदले अर्को ५० विकेट केवल १८ खेलमा पूरा गरेर सर्वाधिक कम खेलमा एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका थिए ।

सन्दीप एक दिवसीयमा जस्तै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि विश्व कीर्तिमानको दौडमा छन् । उनको नाममा तेस्रो सर्वाधिक कम खेलमा ५० विकेट पूरा गर्ने कीर्तिमान रहेको छ । सन्दीपले २९ खेलमा उक्त सफलता प्राप्त गरेका थिए । श्रीलङ्काका अजन्था मेन्डिसले २६ खेलमा र आयरल्यान्डका मार्क अदैरले २८ खेलमा उक्त सफलता पाएका थिए । सन्दीपले ४४ टी-२० अन्तर्राष्ट्रिय खेलमा ८५ विकेट लिएका छन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा एक सय विकेट पूरा गर्ने कीर्तिमान रसिद खानकै नाममा छ । रसिदले ५३ खेलमा उक्त सफलता हात पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर