रुपन्देही सुपर लिग: वेस्टर्न क्लबलाई सफलता – Nepal Press

रुपन्देही सुपर लिग: वेस्टर्न क्लबलाई सफलता

रुपन्देही । बीएमडब्लु वेस्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेस्टर्नले तिरुपती क्रिकेट क्लबमाथि ६५ रनको जीत निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले ४८.५ ओभरमा सबै विकेटको नोक्सानीमा २१३ रनको योगफल बनायो । टीमलाई उच्च स्कोरमा पुर्‍याउन अनिलकुमार साहले अर्धशतकीय पारी खेले । ७८ बलमा ९ चौका र १ छक्काको मद्दतमा उनले ८४ रन बनाए ।

यस्तै रञ्जित खड्काले ३० र भुवन पाण्डेले २४ रनको योगदान गरे ।

बलिङमा तिरुपतीका विवेक यादवले ४, वसिर अहम्मद र वीरेन्द्र मल्लले समान २-२ तथा सन्दीप मौर्य र तुलबहादुर थापाले १-१ विकेट लिए ।

प्रत्युत्तरमा तिरुपतीले २५.४ ओभरमै सबै विकेटको क्षतिमा १४८ रनमात्रै बनायो । उसका लागि वसिर अहम्मदले ४९, नन्दलाल चाई र तुलबहादुर थापाले २४-२४ तथा विवेक यादवले १८ र सन्दीप मौर्यले १६ रन बनाए ।

बलिङमा वेस्टर्नका विष्णु पाण्डे र अभिषेक गौतमले समान ४-४ विकेट लिँदा अनिल खरेलका नाममा २ विकेट रह्यो । वेस्टर्नका अनिलकुमार साह म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताका म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर