पृतनापति ट्रफीको उपाधि २२ नम्बर बाहिनीको पोल्टामा – Nepal Press

पृतनापति ट्रफीको उपाधि २२ नम्बर बाहिनीको पोल्टामा

रुपन्देही । नेपाली सेनाको मध्यपश्चिम पृतनाले रुपन्देहीमा गरेको पृतनापति ट्रफी २०७९ को उपाधि २२ नम्बर बाहिनीले चुमेको छ ।

प्रधानसेनापति ट्रफी २०७९ लाई लक्ष्य राख्दै नेपाली सेनाभित्र रहेका खेलाडीहरु छनोट गर्ने उद्देश्यले हुँदै आएको प्रतियोगिताको यसवर्षको उपाधि २२ नम्बर बाहिनीले चुमेको हो ।

२२ नम्बर बाहिनीले ४१ स्वर्ण, ४४ रजत र १४ कास्य पदक जितेको छ । ३३ स्वर्ण, २८ रजत र १३ काँस्य पदक जितेको १९ नम्बर बाहिनीले उपविजेतामा चित्त बुझाउनुपर्‍यो ।

प्रतियोगिताको अंकभारतर्फ २२ नम्बर बाहिनीले व्यक्तिगततर्फ एथलेटिक्समा ५, तेक्वान्दोमा ३, बक्सिङमा ५, स्विमिङमा ५, टीम इभेन्टतर्फ भलिबलमा ५, बास्केटबलमा ३ र फुटबलमा ३ गरी कुल २९ अंक ल्याएको थियो ।

१९ नम्बर बाहिनीले व्यक्तिगततर्फ एथलेटिक्समा ३, तेक्वान्दोमा ५, बक्सिङमा ३, स्विमिङमा ३, टीम इभेन्टतर्फ भलिबलमा ३, बास्केटबलमा ५, फुटबलमा ५ गरी कुल २७ अंक ल्याउँदै दोस्रो स्थान हासिल गरेको थियो ।

मध्यपश्चिम डिभिजन प्रतियोगिताको व्यक्तिगत इभेन्टतर्फ एथलेटिक्स, तेक्वान्दो, बक्सिङ र स्विमिङमा १-१ तथा टीम इभेन्टतर्फ भलिबल, बास्केटबल र फुटबलमा १-१ गरी कुल ७ अंकसहित तेस्रो भयो ।

प्रतियोगितामा श्री ईश्वरी बक्स गुल्मका चन्द्रबहादुर खत्रीले २२ नम्बर बाहिनीबाट स्वीमिङका विविध विधामा ६ वटा स्वर्ण पदक जित्न सफल भएका थिए ।

नेपाली सेनामा रहेका खेलाडीहरुलाई अवसर सृजना गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पूर्वाभ्यास र खेलाडी छनेटको आधारका रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको पृतनापति उपरथी यामप्रसाद ढकालले बताए ।

आइतबार २२ नम्बर बाहिनी रामनगर खेलमैदानमा भएको कार्यक्रममा पृतनापति उपरथी ढकाल, २२ नम्बर बाहिनीका बाहिनीपति नवराज गुरुङ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता र खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर