पिएन क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालतको आदेश – Nepal Press

पिएन क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालतको आदेश

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारी एकल इजालाशले चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलता तर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागी मिति २०७९।१२।०२ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९।१२।०२ गते सम्मको लागि निर्वाचन सम्बन्धि काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालिन अन्तरिम आदेश जारी गरिदिइएको छ,’ आदेशमा भनिएको छ ।

दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् ।

फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो । उक्त समूहले विरोध जनाउदै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

स्ववियु निर्वाचन कार्यालयमा लागेकोताला नखुलेपछि शनिबार कार्यसूची रहेको उम्मेदवारी दर्ता प्रक्रियासमेत हुन सकेको थिएन । कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु कार्यालयमा बिहीबार तालाबन्दी गरेका थिए ।

तर, विद्यार्थी संगठन र क्याम्पस निर्वाचन समितिबीच सहमति हुन नसक्दा ताला खुलेन । जसले गर्दा उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित भएको थियो ।

तालाबन्दी गर्ने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले तालाबन्दी फिर्ता लिए पनि विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले तालाबन्दी कायमै राखेपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु नै भएन ।

विप्लवनिकट अखिल क्रान्तिकारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई कारबाहीको माग राखेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दिन सक्ने कार्यसूची थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर