सङ्घीयता महँगो भयो भन्नु गलत : मन्त्री शर्मा – Nepal Press

सङ्घीयता महँगो भयो भन्नु गलत : मन्त्री शर्मा

तनहुँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सङ्घीयता महँगो भयो भन्नु गलत भएको बताएकी छन् । तनहुँको आबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहमा भएका अधिकार बाँडफाँडलाई हेर्दा संघीयता महँगो भयो भन्नु गलत भएको बताएकी हुन् ।

संघीयता अघि ६० देखि ६५ जनासम्म मन्त्री बन्नेदेखि ठूलो संख्यामा गाविस र नगरपालिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले अहिले संघमा २५ भन्दा बढी राख्न नपाउने र त्यतिबेलाका धेरै गाविस मिलाएर गाउँ वा नगरपालिका बनाएको पाटो बिर्सन नहुने धारणा राखिन् ।

केन्द्रमा रहेको अधिकार गाउँ गाउँमा पुर्‍याउनु नै सङ्घीयताको मूल मर्म रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘हामीले यसलाई गाउँ गाउँमा सिंहदरबारको रूपमा व्याख्या गरेका छौँ । कहीँ कसैले गल्ती गर्न गर्न सक्छन् तर त्यसको आधारमा संघीयताको विरोध गर्नु सही हुँदैन, यो जनतालाई अधिकार सम्पन्न बनाउने शासकीय विकेन्द्रीकरणको प्रगतिशील प्रणाली हो ।’

तीनै तहका सरकारले संविधान प्रदत्त अधिकार प्रयोग गर्न सक्ने हो भने देश विकासले फड्को मार्ने पनि उनले बताइन ।

स्थानीय तह र प्रदेश सरकारको पहिलो कार्यकाल पूर्वाधार र कानुन निर्माणमा केन्द्रित रहेकाले अहिले सुरु भएको दोस्रो कार्यकालका जनप्रतिनिधिले राम्रो काम गरेर सङ्घीयता सही भएको पुष्टि गर्ने अवसर भएकोमा पनि मन्त्री शर्माले जोड दिइन् ।

स्थानीय सरकार मूलतः जनताको सुख दुखको साथी भएकाले उनीहरूले जनताकै पीरमर्कामा ध्यान दिनुपर्ने पनि उनले बताइन ।

शिक्षा, स्वास्थ्य, उत्पादन वृद्धि, भूमि व्यवस्थापनलगायतका क्षेत्रमा आबुखैरेनी गाउँपालिकाले गरेको सुरुवातप्रति खुशी व्यक्त गर्दै मन्त्री शर्माले यसबाट संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

पालिकाले स्थापना दिवसको अवसरमा पालिकाभित्र गाउँ पञ्चायत स्थापनादेखि गाविस, पालिका हुँदै आजका दिनसम्म राजनीतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यवसायलगायत सबै क्षेत्रमा नयाँ कामको सुरुवात गर्ने संस्थापकलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर