पीएनजीसँग यूएईको लगातार तेस्रो हार, एकदिवसीय मान्यता जोगाउन बाँकी तीन खेल जित्नैपर्ने – Nepal Press

पीएनजीसँग यूएईको लगातार तेस्रो हार, एकदिवसीय मान्यता जोगाउन बाँकी तीन खेल जित्नैपर्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारि त्रिदेशीय एकदिवसीय शृंखलामा यूएई पपुवा न्यूगिनी(पीएनजी)सँग लगातार तेस्रो पटक पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १ सय ९० रन बनाएर अलआउट हुँदा पीएनजीले ५६ रनको जित निकाल्यो ।

यसअघि, यूएई आफ्नै मैदानमा पीएनजीसँग दुईपटक पराजित भएको थियो । यूएईका लागि दोस्रो नम्बरमा क्रिजमा आएका आर्यन लाक्राले सर्वाधिक ५१ रन योगदान गरे । उनले, ७२ बल खेल्दै ५ चौका र एक छक्का प्रहार गरे । ओपनर मोहमद वासिम २७ बलमा ४ चौका र तीन छक्काको मद्दतमा ४१ रनमा क्याचआउट भएका थिए । यस्एईका लागि निरन्तर राम्रो स्कोर बनाईरहेका अर्का ओपनर आसिफ खान ११ रनमा आउट भए ।

चुन्दाङ्गापोयल रिजवान र जावार फरिद समान १९ रन बनाएर पभेलियन फर्कँदा कार्थिक मेयाप्पनले १४ रन जोडे । त्यो बाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पीएनजीका रिले हिकुरेले सर्वाधिक तीन विकेट लिए । काबुआ मोइरा र कप्तान आसाद भालले समान दुई विकेट लिँदा सिमोन कामिआ र नोर्मान भानुवाले एक–एक विकेट लिए ।

यसअघि, पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार पार्यो ।पीएनजीका सेसे बाउले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । उनले १ सय ६ बल खेल्दै १० छक्का प्रहार गरे ।

ओपनर किप्लिन डोरिगा पहिलो विकेटका लागि हिरीहिरीसँग अर्धसतकीय साझेदारी गर्दै ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ नमा आउट भए । हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७ रन योगदान गरेर आर्यन अफजल खानको बलमा बोल्डआउट भए । शिर्ष क्रमका तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दा मध्उ क्रमका चाड सोपर र नोर्मान भानुवाले समान १० रन योगदान गरे । पीएनजीका अन्य ब्याटले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईको बलिङमा आर्यन अफजल खानले १० ओभरमा तीन मेडन राख्दै ३४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । जाहुर खान र जुनाइद सिद्दीकीले समान दुई विकेट लिँदा, रोहन मुस्तफा र कार्थिक मियाप्पनले एक–एक विकेट लिए ।

पीएनजीसँगको हारपछि यूएईलाई शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन बाँकी तीन खेल जित्नै पर्ने दवाव रहेको छ । यूएईले दोस्रो खेल आइतबार नेपालसँग खेल्ने छ ।पीएनजी पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर