एमालेको खेलकुद महासंघमा विवाद, भानुभक्त ढकालविरुद्ध अध्यक्षका उम्मेदवारले दिए उजुरी – Nepal Press

एमालेको खेलकुद महासंघमा विवाद, भानुभक्त ढकालविरुद्ध अध्यक्षका उम्मेदवारले दिए उजुरी

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया नै रोकेर एकलौटीरूपमा केन्द्रीय समिति घोषणा गरिएको भन्दै अध्यक्षका उम्मेदवार चेतनराज गिरीले पार्टी नेतृत्वसमक्ष उजुरी गरेका छन् ।

विराटनगरमा फागुन ७ गते सुरू भएको महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया थाल्ने बेला अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि प्रकाश महतको बन्द सत्र हलबाहिर सडक दुर्घटनामा निधन भएपछि अध्यक्ष मण्डलले उम्मेदवारी मनोनयन नै रोकेको थियो ।

गिरीले एमाले महासचिव शंकर पोखरेललाई सम्बोधन गर्दै बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष मण्डलका अध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महाधिवेशन प्रतिनिधिको निधनको शोकलाई अवसरमा बदल्ने कुचेष्टा गरेको आरोप लगाएका छन् ।

अध्यक्षमा पर्शुराम बस्नेत र चेतन गिरीले उम्मेदवारी दिएकोमा अध्यक्ष मण्डलले निर्वाचन नै नगराई बस्नेतलाई निर्विरोध घोषणा गरेको भन्दै असहमति जनाएका छन् । उनले आफ्नो मनोनयन पत्रलाई बेवास्ता गर्दै अर्को व्यक्तिलाई स्वार्थमा फसेर अध्यक्ष बनाउन विधि पद्धति मिचेको आरोप लगाएका छन् ।

पत्रमा भनिएको छ- एक अमुक व्यक्तिलाई अध्यक्ष बनाउनका लागि पार्टी संगठनको विधि र पद्धतिलाई तिलाञ्जली दिइनुको पछाडि अध्यक्ष मण्डलका अध्यक्षको के स्वर्थ लुकेको छ ? त्यो शंकाको घेरामा रहेको छ । तसर्थ त्यस उपर छानबिन गरियोस् ।

उनले खेलकुद महासंघका अध्यक्षमा आफ्नो उम्मेदवारी कायमै रहेको समेत नेतृत्वलाई जानकारी गराएका छन् । महाधिवेशनमा १७ सदस्यीय पदाधिकारीमध्ये कोषाध्यक्षमा मात्र उज्ज्वल सुवेदीको एकल उम्मेदवारी परेको र अन्यमा निर्वाचन हुनुपर्ने गिरी पक्षको माग छ ।

उनले अध्यक्षलगायत अन्य पदाधिकारीमा उम्मेदवारी दिनेहरूलाई बोलाएर छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष मण्डलका अध्यक्ष ढकालले आफ्नो जिम्मेवारीविपरीत स्वार्थमा फसेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर