गण्डकीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण गोप्य – Nepal Press

गण्डकीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण गोप्य

यसअघि गुरुङ र पोखरेल सरकारका पालामा मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको थियो

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको ५९ दिन हुँदासम्म पनि मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा पुस २५ गते गठन भएको सरकारका कुनै पनि मन्त्रीको सम्पत्ति विवरण राखिएको छैन ।

सार्वजनिक पद धारणा गरेका व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्री र मन्त्रीहरुले भने सबैको सम्पत्ति विवरण सम्बन्धित निकायलाई बुझाइसकेको मन्त्रिपरिषद्का एक सदस्यको दाबी छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहामगरले सरकारका सबै मन्त्रीको सम्पत्ति विवरण बुझाइसकेको बताए ।

‘हामीले सबैको सम्पत्ति विवरण बुझाइसकेका छौं, सम्बन्धित निकायले किन सार्वजनिक गरेन, त्योचाहिँ हामीलाई थाहा भएन,’ मन्त्री गाहामगरले भने । तर, हालसम्म गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसहितका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन ।

गण्डकीका मुख्यमन्त्री अधिकारी, आर्थिक मामिलामन्त्री सीता सुन्दास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङको नियुक्त भएको ५९ दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । माघ १० गते मन्त्री नियुक्त भएका रेशम जुग्जाली मगर, बेदबहादुर गुरुङ र रोशनबहादर गाहामगरको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । आर्थिक पारदर्शिताका लागि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने अभ्यास सुरू गरिएको थियो ।

गण्डकीमा यसअघि पृथ्वीसुब्बा गुरुङ र कृष्णचन्द्र नेपाली नेतृत्वका दुवै सरकारका पालामा मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । यसैपालीको कर्णाली सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् । गण्डकीमा भने मुख्यमन्त्री र मन्त्रीहरु पारदर्शी बन्न चाहेको देखिएको छैन ।

मुख्यमन्त्री खगराज अधिकारी २०७० सालमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । त्यतिबेला भने उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यति बेलाको विवरण अनुसार खगराज अधिकारीकोे नाममा पोखरामा एउटा घर छ । काठमाडौंमा अधिकारीकी श्रीमती रमा पाण्डेको नाममा घर रहेको त्यति बेलाको सम्पत्ति विवरणमा उल्लेख थियो । मन्त्री अधिकारीको नाममा पोखरामा छुट्टाछुट्टै ३ ठाउँमा जग्गा तथा रमा पाण्डेका नाममा धादिङको छत्रेदेउरालीमा २ रोपनी ९ आना जग्गा रहेको उल्लेख गरेका थिए ।

अधिकारीसँग नगद ५ लाख र ३ तोला सुन र श्रीमती पाण्डेसँग पेवा पाएको १८ तोला सुन थियो । नेपाल बैंक लिमिटेडमा अधिकारीले करिब २ लाख ५० हजार बचत, पारिजात बचत तथा ऋण सहकारीमा १ लाख २९ हजार र नमुना बचत तथा ऋण सहकारीमा २ लाख २८ हजार नगद मौज्दात थियो ।

श्रीमती पाण्डेको नाममा लालीगुराँस बचतमा ५ लाख, एभरेस्ट बैंकमा ८ लाख, कृषि विकास बैंकमा १ लाख र नेपाल बैंक लिमिटेडमा ५० हजार मौज्दात रहेको उल्लेख गरेका थिए । छोरी स्नेहा अधिकारीको नाममा समृद्धि बचत तथा ऋण सहकारीमा १ लाख २१ हजार, नमुना बचत तथा ऋण सहकारीमा १ लाख सेयर लगानी र रमा पाण्डेको नाममा लालीगुराँस सहकारी र शिक्षक सहकारीमा १०–१० हजारको सेयर थियो ।

अहिलेका भौतिक पूर्वाधार विकास मन्त्री हरिबहादुर चुमान तत्कालीन गुरुङ सरकारमा आन्तरिक मामिला मन्त्री थिए । त्यति बेला उनले त्यतिखेर आफू र परिवारको नाऊँको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । ऊ बेला सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार चुमानको तनहुँ आँबुखैरहनीमा श्रीमती धनकुमारी चुमानको नाममा १३ रोपनी जमिन, १० तोला सुन, विभिन्न वैंकमा करीब २ लाख र कृषि विकास बैंकमा ३२ सय कित्ता सेयर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर