सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गर्ने नेपालको प्रतिबद्धता – Nepal Press

सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गर्ने नेपालको प्रतिबद्धता

काठमाडौं । नेपालले सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गरिसक्ने प्रतिवद्धता जनाएको छ ।

कतारमा जारी अतिकम विकसित राष्ट्र (एलसीडी) को अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज नेपालले उठाएको छ ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवं पदाधिकारीसँग उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली प्रतिनिधि मण्डलको द्विपक्षीय, बहुपक्षीय छलफल भएको छ ।

सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किएका छन् ।

मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रको ‘कोअर्डिनेसन ब्युरो’को अध्यक्षको जिम्मेवारी दिएको छ।

एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ ।

सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज उठाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्टित राष्ट्रले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्थाले पैदा गरेका चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारिक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघद्वारा जारी ‘सस्टेनेबल डिभलपमेन्ट गोल’ (एसडीजी)लाई सन् २०३० सम्ममा हासिल गर्ने छलफलसमेत सम्मेलनमा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर