राष्ट्रपति चुनाव : अझै खुलेनन् यी दल – Nepal Press

राष्ट्रपति चुनाव : अझै खुलेनन् यी दल

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध अधिकांश राजनीतिक दलले पक्षधरता देखाए पनि केही राजनीति दल कसलाई मत दिने भन्नेबारे अझै खुलेका छैनन् ।

बिहीबार राष्ट्रपति चयनका लागि निर्वाचन छ । एक दिनअघिसम्म संघीय संसदमा रहेका तीनवटा र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले कसलाई मत दिने भन्नेबारे निर्णय गरिसकेका छैनन् ।

यसरी खुल्न नसकेका दलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् । त्यस्तै प्रदेश संसदमा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । रास्वपाले बिहीबार बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मैदानमा छन् ।

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागू भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।

‘गत फागुन १७ गतेबाट नै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्था छ, आचारसंहिता लागु भईसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैनन,’ उनले भने, ‘अब कुन उम्मेदवारको पक्षमा खुल्ने कुरा प्रचार हुन्छ ।’

अब पक्षधरता देखाए वा खुलेमा निर्वाचन आयोगले राजनीतिक दललाई प्रस्टीकरण सोधेर कारबाही गरिने पनि थपलियाले बताए ।

-न्यूज कारखाना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर