बिजनेस नहुँदा प्रदेशसभा बैठक अनिश्चित, जनताका समस्या सरकारलाई सुनाउन कर्णालीका सांसद बञ्चित – Nepal Press

बिजनेस नहुँदा प्रदेशसभा बैठक अनिश्चित, जनताका समस्या सरकारलाई सुनाउन कर्णालीका सांसद बञ्चित

सुर्खेत । सरकारले बिजनेस दिन नसक्दा कर्णाली प्रदेशसभाको बैठक लामो समयदेखि बसेको छैन । माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि स्थगित बैठक त्यसयता बसेको छैन । सरकारले बिजनेस नदिएकाले बैठक बस्न नसकेको प्रदेशसभाको दाबी छ ।

प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । त्यस अवधिमा सभामुख र उपसभामुख निर्वाचित गरेको प्रदेशसभाले अन्य कामकारबाही अघि बढाउन सकेको छैन ।

प्रदेशसभाका चार विषयगत समिति पनि गठन भएको छैन । प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ संसदीय समिति रहेका छन् ।

सदन लामो समय स्थगित हुँदा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे सरकारलाई ध्यानाकर्षण गराउन पाएका छैनन् । प्रदेशसभा बैठक नहुँदा सांसदहरू फुर्सदिला बनेका छन् । कतिपय सांसदहरू पार्टीको काममा जिल्ला दौडाहामा व्यस्त छन् ।

‘निर्वाचित हुँदा जुन उत्साह बोकेर आएका थियौं, सरकार र सांसदका गतिविधिले दुःखी बनायो’, प्रदेश सांसद घनश्याम भण्डारीले भने, ‘हामी निर्वाचित भएर आएको लामो समय भइसक्यो, आवश्यक कानून बनेका छैनन् । प्रदेश सरकारका काम लथालिङ्ग छन् ।’

प्रदेशसभा सचिव जीवराज बुढाथोकी राष्ट्रपति, उपराष्ट्रपति चुनावपछि प्रदेशसभा बैठक बस्न सक्ने जानकारी दिए ।
बिजनेस नहुँदा बैठक बस्न नसकेको उनको भनाइ छ ।

सरकारले बिजनेस दिए बैठक सञ्चालन गर्न आफूहरु तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर