विष्णु रिजाल भन्छन्- एमाले कुनै विदेशी प्रभुसामु झुक्दैन – Nepal Press

विष्णु रिजाल भन्छन्- एमाले कुनै विदेशी प्रभुसामु झुक्दैन

जुम्ला । नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण एमालेलाई घेराबन्दीमा पारिएको बताएका छन् ।

जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानीमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै रिजालले कुनै विदेशी प्रभुसामु नझुक्ने बताए ।

उनले भने, ‘आफ्नो संविधान आफैँ बनाउँदा, नाकाबन्दीको डटेर सामना गर्दा, आफ्नो लुटिएको भूमिसहित नक्सा जारी गर्दा र चीनसँग पारबहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ । तर, जति गरे पनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ ।’

नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अभियानका क्रममा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले राष्ट्रभक्त पार्टीका पक्षमा जनतालाई गोलबन्द गराउनुपर्नेमा जोड दिए ।

‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ । एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ’, उनले भने, ‘तर, हामीलाई अप्राकृतिक रूपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ । जनताको बलमा त्यसलाई परास्त गर्नेछौं ।’

वडा कमिटीका अध्यक्ष भीमबहादुर बुढ्थापाको अध्यक्षतामा सम्पन्न भेलामा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य शान्ता शाही, प्रदेश प्रतिनिधि आदिप्रसाद न्यौपाने, नारायणी चौलागाईं, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, सदस्य धीरज जैसीलगायतको उपस्थिति थियो ।

वटा ८ वडा रहेको तातोपानी गाउँपालिकका ३ वटा वडामा एमालेले अभियान सम्पन्न गरेको छ । बाँकी वडाहरूमा केन्द्रीय सदस्य रिजालको उपस्थितिमा अभियान सञ्चालन गरिने पालिका अध्यक्ष पूर्ण पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर