‘पावर शेयरिङ’मा नेकपा एस- कोशी र बागमती प्रदेशमध्ये एककाे मुख्यमन्त्री दाबी – Nepal Press

‘पावर शेयरिङ’मा नेकपा एस- कोशी र बागमती प्रदेशमध्ये एककाे मुख्यमन्त्री दाबी

काठमाडौं । नौ दलीय सत्ता गठबन्धनमा ‘पावर शेयरिङ’को विषयमा गृहकार्य सुरु भएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल अघि बढाएपछि प्रदेशसम्म प्याकेजमा भागबन्डा हुन लागेको हो ।

चुनावअघिको सत्ता गठबन्धन ब्युँताएर प्रधानमन्त्री प्रचण्डपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति बनेपछि प्रदेशको नेतृत्व पनि दाबी गर्ने भएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि पावर शेयरिङको विषयमा छलफल भइरहेको नेकपा एसका नेता जीवनराम श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘अहिले प्रारम्भिक छलफल सुरु भएको छ । राष्ट्रपतिको निर्वाचनपछि मात्रै औपचारिक सहमति बन्ला ।’

नेकपा एसले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले भने, ‘हामी छलफलमै छौं । सबै प्रदेश सरकारमा हाम्रो सहभागिता रहन्छ । अब नेतृत्वको विषयमा पनि पावर शेयरिङ गर्दा कुनै प्रदेशको नेतृत्व पाउन सक्छौं । तर, हामीले यही चाहिन्छ भनेका छैनौं ।’

यसअघि एमाले-माओवादी गठबन्धन हुँदा एमालेले ४, माओवादीले २ र जसपाले मधेस प्रदेश सरकारको नेतृत्व लिएका थिए । एमालेले नेतृत्व गरेको कोशी, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमध्ये कांग्रेसले सुदूरपश्चिम प्रदेशको नेतृत्व हात पारिसकेको छ ।

माओवादीले कर्णाली र बागमती प्रदेश सरकारको नेतृत्व लिएको छ । तर, नेकपा एसले अहिले कोशी वा बागमती प्रदेशमा दाबी गर्ने आन्तरिक तयारी गरेको एक नेताले बताए । एमालेले लिइरहेको गण्डकी र लुम्बिनी कांग्रेसले लिने लगभग पक्का छ ।

त्यसो हुँदा नेकपा एसले कोशी प्रदेशको नेतृत्व पाउने सम्भावना छ । त्यहाँ पार्टी सचिवसमेत रहेका राजेन्द्र राई प्रदेश संसदीय दलको नेता छन् । उनी यसअघि पनि मुख्यमन्त्री भएका थिए । पार्टीको शीर्ष नेता व्यवस्थापन गर्नुपर्ने भएकाले पनि नेकपा एसले कोशी प्रदेश नै रोज्नसक्ने नेताहरु बताउँछन् ।

९३ सदस्यीय कोशीको प्रदेशसभामा नेकपा एसका ४ सांसद छन् । पहिलो दल एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपा र जसपाका एकएक सांसद छन् ।

यस्तै बागमती प्रदेशमा अहिले माओवादीका शालिकराम जमरकट्टेल मुख्यमन्त्री छन् । यहाँ नेकपा एसका ७ जना सांसद छन् । माओवादीले एसलाई बागमती प्रदेश सरकारको नेतृत्व छाडे पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर