प्रचण्डविरुद्ध मुद्दा दर्ता नगर्न कांग्रेस नेताहरुलाई ‘माथिको दबाब’, मोक्तान भन्छन् : भोलि अदालत जान्छौं – Nepal Press

प्रचण्डविरुद्ध मुद्दा दर्ता नगर्न कांग्रेस नेताहरुलाई ‘माथिको दबाब’, मोक्तान भन्छन् : भोलि अदालत जान्छौं

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्धको रिट निवेदन दर्ता नगर्न रिट निवेदकसमेत रहेका महाधिवेशन प्रतिनिधिहरुलाई अनौपचारिक निर्देशन दिएको छ ।

रामेछापका कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डविरुद्ध ५ हजार हत्याको जिम्मा लिएको भन्दै कारवाहीका लागि रिट दर्ता गर्न खोजिरहेका बेला नेताहरुले त्यसो नगर्न भनेका हुन् ।

सुनापति गाउँपालिका अध्यक्षको उम्मेदवारसमेत रहिसकेका महाधिवेशन प्रतिनिधि मोक्तानले आफूहरुलाई नेतृत्वले भने पनि पीडितको हिसाबले रिट दर्ता गर्नबाट पछि नहट््ने बताए ।

मोक्तानले नेपाल प्रेससँग भने- नेताहरुको दबाबका कुरा छाडौं,उहाँहरु भन्दै गर्नुहुन्छ तर हामी भोलि रिट दर्ता गर्छौं । आइतबार आदेशको पूर्णपाठ नआएकाले दर्ता नभएको हो ,होलि विदा लगत्तै अदालत गएर दर्ता गराउँछौं ।

माओवादी नेताहरुले रिट निवेदक कांग्रेसका जिम्मेवार नेताहरु रहेको भन्दै उनीहरुलाई रोक्न दबाब दिएका छन् । यसले राष्ट्रपति चुनावमा आशंका बढ्ने उनीहरुको भनाइ छ । मोक्तानले आफूहरुले पीडा भोगेको भन्दै अहिलेसम्म पार्टीले किन टुंगो नलगाएको भन्दै अब कसैको दबाब वा निर्देशनको अर्थ नहुने बताए ।

मोक्तानकी सानीआमा रेलीमाया मोक्तानको माओवादीहरूले अपहरणपछि खुकुरीले काटेर हत्या गरेका थिए । दोरम्बा हत्याकाण्डको सुराकी भन्दै स्वास्थ्य स्वयंसेविका रेलीमायालाई अपहरणपछि यातना दिएर मारिएको मानव अधिकार आयोगले जनाएको छ ।

रेलीमायाको हत्यापछि उनको स्तनसमेत काटिएको थियो । पत्नीको हत्यापछि चण्डिकालाल मोक्तान गाउँ छाडेर हिँडेका थिए । उनको सम्पत्ति पनि माओवादीले कब्जा गरेको आरोप छ । चण्डिकालालका छोरा हुन् रिट निवेदक जितेन्द्र ।

त्यस्तै, मुख्य रिट निवेदक ज्ञानेन्द्रराज आरण कांग्रेसका पूर्व महासमिति सदस्य तथा हाल बागमती प्रदेश महाधिवेशन प्रतिनिधि हुन् । उनका पिता तत्कालीन कांग्रेस नेता तथा गाविस अध्यक्ष टीकाराज आरणको माओवादीले अपहरणपछि हत्या गरेका थिए ।

प्रतिक्रिया

One thought on “प्रचण्डविरुद्ध मुद्दा दर्ता नगर्न कांग्रेस नेताहरुलाई ‘माथिको दबाब’, मोक्तान भन्छन् : भोलि अदालत जान्छौं

  1. फलाम तातेको बेला घनले हान्दा पो आकार ल्याउन सहज हुन्छ, बुझ्नुभो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर