केपी ओलीको हवाला दिँदै आएको समाचार भ्रमपूर्ण, यथार्थ छानबिन हुन्छ : सरकार – Nepal Press

केपी ओलीको हवाला दिँदै आएको समाचार भ्रमपूर्ण, यथार्थ छानबिन हुन्छ : सरकार

काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति भनि सञ्चारमाध्यममा सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारको प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।

त्यस क्षेत्रमा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको प्रवक्ता शर्माले स्पष्ट पारेकी छन् ।

त्यस्तै, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचारका विषयमा पनि आवश्यक छानबिन र अध्ययन गरी सत्य तथ्य सावर्जनिक गराउने प्रतिवद्धता पनि विज्ञप्तिमा गरिएको छ ।

शर्माले भनेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’

नेपाल सरकार मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा दृढतापूर्वक उभिएको भन्दै यस्ता विषयहरुबाट भ्रमित नहुन शर्माले आग्रह समेत गरेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर