एउटै मञ्चबाट माओवादी धारका नेताहरूको सन्देश- घेराबन्दीविरुद्ध एकजुट हुन्छौं – Nepal Press

एउटै मञ्चबाट माओवादी धारका नेताहरूको सन्देश- घेराबन्दीविरुद्ध एकजुट हुन्छौं

काठमाडौं । २०५२ सालदेखि माओवादी सशस्त्र युद्धका सहयात्री नेता अहिले छिन्नभिन्न छन् । विसं २०६३ साल मंसिर ५ गतेपछि शान्ति सम्झौता गरेदेखि यो पार्टी अहिले विभिन्न समूह-उपसमूहमा विभाजित छ । सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक देशको प्रधानमन्त्री भएका छन् ।

शान्ति प्रक्रियापछि २०६४ सालको निर्वाचनमा पहिलो शक्ति भए पनि माओवादीको जनमत निरन्तर ओरालो लागेको पछिल्लो निर्वाचनको परिणामले देखाएको छ । तेस्रो शक्तिमा खुम्चिएको माओवादी कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ता प्राप्तिमा लागिरहेको छ ।

तर, जनमत ओरालो लागेपछि प्रचण्डले अहिले पूर्वमाओवादीहरूलाई एकजुट बनाउने पहल थालेका छन् । यहीबीचमा आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वमाओवादी धारका नेता एउटै मञ्चमा देखिए ।

लामो समयदेखि अलग-अलग बाटोमा हिँडेका पूर्वमाओवादी नेताहरुले आफूहरू एकै ठाउँमा पुनः नआई सुखै नहुने अभिव्यक्ति दिए । कार्यक्रममा प्रचण्डसहित नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीलगायत सहभागी थिए ।

सम्बोधनको क्रममा बाबुराम, विप्लवलगायतका नेताले प्रचण्डमाथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै सर्वोच्चमा दायर रिटप्रति इंगित गर्दै अभिव्यक्ति दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकलाई एकताबद्ध हुन आह्वान गरे ।

उनले सबै माओवादी एक ठाउँमा केन्द्रित हुने समय आएको उल्लेख गर्दै भने, ‘फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपील गर्दै आएको छु । माओवादी आन्दोलन ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भँगालामा विभाजित जस्तो भयो । हामी सबैले सबैका अनुभव यहाँ बाबुरामजी, विप्लवजी र किरणजीले हासिल गरेका र धर्मेन्द्रजीले हासिल गर्दै गरेका अनुभव यी सबैलाई हाम्रा अनुभव भनौं ।’

प्रधानमन्त्री प्रचण्डले आफूले जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको उल्लेख गरे ।

‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्नखाले दबाब र घेराबन्दीविरुद्ध लडिराखेको छु । मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र‚ किरणजीहरू पनि लडिराख्नु भएकै देख्छु आजभोलि । हामी सबै लडाइँ लडिराखेका शक्तिहरू एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामी शहीद, बेपत्ता योद्धाका सपनाप्रति इमानदार भएको ठहरिन्छ’, प्रचण्डको भनाइ थियो ।

प्रचण्डको भनाइप्रति पूर्वसहकर्मी तथा नेसपाका भट्टराई पनि सहमत देखिन्थे । उनले पनि माओवादीहरुले आफ्ना गल्ती र कमजोरी महसुस गर्दै अब मिलेर जानुपर्नेमा जोड दिए ।

‘मिल्न सक्नेहरू जति एक ठाउँमा आऔं, एउटा पार्टी बनाऔं । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔं । अहिले यत्रो आक्रमण भइरहेको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’, उनले प्रश्न गर्दै भने ।

उनले प्रधानमन्त्री प्रचण्डविरुद्ध तीन वर्षअघिको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न दिएको अनुमतिप्रति आकोश पोखे ।

‘तीन वर्षअघिको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्न सक्छौं नि’, अध्यक्ष भट्टराईले भने, ‘हामी सबै मिलेर किन आवाज निकाल्दैनौं ? किन सडकमा निस्किन सक्दैनौं ? यस्ता मुद्दामा कार्यगत एकता गरौं । त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा शहीदको सपना पूरा गर्छ ।’

यस्तै, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पनि प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत माओवादी केन्द्रले नबोलेकोप्रति असन्तुष्टि जनाए । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको चेतावनीसमेत दिए ।

‘आज यो सारा माओवादीले बिगार्‍यो, भत्कायो, अपराधीहरू, लुटेराहरु, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? २ सय वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन्’ उनले चेतावनी दिँदै भने, ‘हामी अपराधी होइनौँ जुन अपराधी बनाई व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन ।’

उनले यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा स्वीकार नहुने उल्लेख गर्दै माओवादीलाई अपराधी बनाउन खोजे इतिहास दोहोरिने चेतावनी दिए ।

यस्तै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले पनि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालमा अधुरो रहेका शहीदका सपनाहरू पूरा गर्नको निम्ति । शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो । अहिले भन्दै हुनुहुन्छ उहाँहरू साथीहरूले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ, यस्तै हुन्छ नयाँ जनवाद भित्र ? यस्तो हुँदैन । अहिले फेरि ०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले गर्नुपर्ने छ ।’

नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको उल्लेख गर्दै जसले जति नारा लगाए पनि त्यसको अर्थ नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

One thought on “एउटै मञ्चबाट माओवादी धारका नेताहरूको सन्देश- घेराबन्दीविरुद्ध एकजुट हुन्छौं

  1. अब जति एकताबद्व भए पनि तिमीहरू लुटेरा हौ, विदेशीका दलाल हौ भन्ने कुरा जनतामा स्पष्ट भैसक्यो । अब जनता नधम्काउ । जनताले वास्तविक जनकारवाही गर्लान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर