संसदीय दलका नेताको भनाइ माओवादीकै सांसदद्वारा खण्डन, भने- विश्वासको मत नदिने निर्णय भएको छैन – Nepal Press

संसदीय दलका नेताको भनाइ माओवादीकै सांसदद्वारा खण्डन, भने- विश्वासको मत नदिने निर्णय भएको छैन

कैलाली । भोलि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा माओवादी भित्र तीव्र विवाद पैदा भएको छ ।

केही बेर अघि माओवादी संसदीय दलका नेता खगराज भट्टले संसदीय बैठकले माओवादीले विश्वासको मत नदिने निर्णय भएको जानकारी दिएका थिए ।

माओवादी संसदीय दलका नेताले अभिव्यक्ति दिए लगत्तै माओवादी सांसदले नै त्यसको खण्डन गरेका छन् । माओवादी सांसद ओम विक्रम भाट सरलले सामाजिक सञ्जाल मार्फत त्यस्तो निर्णय नभएको बताएका हुन् ।

‘माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन । हामी निरन्तर छलफलमै छौँ’ उनले लेखेका छन्, ‘बैठक आजकालागि स्थगित भएको छ आवश्यक निर्देशन र मार्गदर्शनका लागी पार्टी केन्द्रसँग अनुरोध गरिएको छ । हामी आठ दलीय गठबन्धनप्रति प्रतिबद्ध छौँ । ’

उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखिएको समेत जनाए । सांसद भाटले भोलि केन्द्रीय अध्यक्षबाट आउने निर्णय अनुसार अघि बढ्ने बताए ।

‘पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ज्युले गर्ने निर्णय र मार्ग निर्देशन अनुसार हामी अगाडि बढ्ने हौँ । त्यस कारण धमिलो पानीमा माछा मार्ने दुष्प्रयास कसैले नगरौँ । पार्टीको लाइन र नेतृत्वलाई अप्ठ्यारो पर्ने कार्य गर्न हामी कल्पना समेत गर्न सक्दैनौँ’ उनले अगाडी देखेका छन्,‘ त्यसैले कपोकल्पित विषय उचालेर होइन सहमति सहकार्य र गठबन्धनको साझा सहमतिमा अगाडि बढ्छौँ । स्वाभाविक रूपमा गठबन्धन भित्र आपसी सहमतिमा हाम्रो दाबी रहन्छ ।’

सांसद भाटले नेपाल प्रेसलाई पनि विश्वासको मत नदिने विषयमा कुनै निर्णय नभएको दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर