सुदूरपश्चिममा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका छौँ : माओवादी संसदीय दलका नेता भट्ट (भिडिओ) – Nepal Press

सुदूरपश्चिममा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका छौँ : माओवादी संसदीय दलका नेता भट्ट (भिडिओ)

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताएका छन् ।

प्रदेशका मुख्यमन्त्री कमल शाहलाई भेटेर फर्किएपछि भट्टले आफ्नो पार्टीले गरेको निर्णय बारे पत्रकारहरूलाई जानकारी गराएका थिए ।

‘हिजोको सहमति अनुसार मुख्यमन्त्री माओवादी केन्द्रले पाउनु पर्छ’ उनले भने ‘यसमै पूरक निर्णयको रूपमा यथास्थितिमा विश्वासको मत दिन नसकिने निर्णय गरेका छौँ । ’

उनले आफ्नो पार्टीले गरेको निर्णय बारे मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

यस अघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिने बताएको समेत भट्टको भनाइ थियो ।

भोलि मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन् । माओवादी संसदीय दलका नेता भट्टले भने अहिले माओवादीलाई नेतृत्व दिन मुख्यमन्त्री शाहलाई पनि आग्रह गरेका थिए ।

उनले यस विषयमा कानुन विद्हरूसँग पनि सल्लाह गरेको बताए ।

संविधानको धारा १६८ को उपधार २ अनुसार बनेको सरकार माघ २६ मा ढलेपछि सोही दिन उपधार ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । सोही अनुसार शाहले भोलि विश्वासको मत लिँदै छन् ।

माओवादी संसदीय दलका नेता भट्टले भने उपधारा २ अनुसार नै दुई वा दुई भन्दा बढी दलको समर्थनमा आफूले सरकार बनाउनु पर्ने कांग्रेस नेतृत्वलाई बताउँदै आइरहेका छन् ।

एक साता काठमाडौँमा रहको भट्टले यस विषयमा आफूले गठबन्धनका शीर्ष नेताहरूलाई पनि जानकारी गराएको बताए । ‘हामीले हाम्रा कुरा राखेका थियौँ उहाँहरूले हामी टुङ्गाउँछौँ भन्नु भएको थियो टुङ्गाउनु भएको छैन ’ उनले भने ।

माओवादी संसदीय दलले भोलि पनि बैठक राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर