बानेश्वरमा दुर्गा प्रसाईंको उत्तेजक भाषण- बैंक र सहकारीलाई गाली, सत्ता राजालाई छाड्न नेताहरुलाई आग्रह (भिडिओ) – Nepal Press

बानेश्वरमा दुर्गा प्रसाईंको उत्तेजक भाषण- बैंक र सहकारीलाई गाली, सत्ता राजालाई छाड्न नेताहरुलाई आग्रह (भिडिओ)

‘गाउँमा ३ पैसे ब्याज लगाउने सामन्ती सहर पसेर वित्तीय संस्था चलाउँदैछन्, सीमित व्यापारीले ३२ खर्ब रुपैयाँ चलाइरहेका छन्’

काठमाडौं । केही दिनअघि पूर्वाराजा ज्ञानेन्द्र शाहलाई झापा पुर्‍याएर महाअभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाईँ नयाँ बानेश्वरमा शनिवार एक कार्यक्रमको आयोजना गरी बैंक तथा वित्तीय संस्था र राजनीतिक दलका नेताहरूमाथि खनिएका छन् ।

हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतङ्क, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई सामन्तीको संज्ञा दिए ।

हिजो पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरूले अहिले सहर पसेर बैंक खोजेको उनको आरोप थियो ।

उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन् । मान्छेको घरजग्गा लिलाम गर्दैछन् । पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू, तीन रुपैयाँ ब्याजमा पैसा लगाउने सामन्तीहरू आज बैंकको नाममा सहरमा छिरेका छन् । लघुवित्त र सहकारीका नाममा गाउँमा छिरेका छन् ।’

बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई कारबाही गर्न पार्टीभित्र आवाज उठाउँदा आफू कारबाही परेको पनि उनले बताए ।

प्रसाईँले अब गणतन्त्रबाट देश पार लाग्न नसक्ने उल्लेख गर्दै सत्ता राजाको हातमा सुम्पिन नेताहरूलाई चेतावनी पनि दिएका छन् ।

उनले भने, ‘तपाईँहरूबाट पार लागेन । ३४ वर्ष ढाँट्नुभयो । जुन ठाउँबाट सत्ता लिनुभएको थियो । त्यो ठाउँमा सत्ता फिर्ता गर्नुहोस् । हामीलाई तपाईँको घर घेर्नु नपरोस् । इज्जतसँग सत्ता फिर्ता गर्नुहोस् ।’

प्रधानमन्त्री पुष्पकाल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नाम लिँदै उनले सबैलाई विश्राम लिन आग्रह पनि गरे ।
उनले भने, ‘तपाईँहरू विश्राम लिनुहोस् देश अब हामी चलाउँछौँ । अब हामीले देश चलाउने निर्णय गरिसक्यौँ ।’

पूर्वराजा शाहलाई प्रसाईँले जनताको माझमा आएर देशको जिम्मा लिन पनि आग्रह गरे ।

उनले भने, ‘तपाई नागरिकको हैसियतले आउनुहोस् जनताका माझमा । राजा बनाउने कि के बनाउने जनताले बनाउने छन् । यो देश तपाईँका जिजुबुवाहरुले बनाएको हो ।’

हिजो राजाले सत्ता छाड्दा २३ अर्ब ऋण र ६० वटा उद्योग कलकारखाना रहेकोमा अहिले ऋण २२ अर्ब पुगेको र सबै कलकारखानाहरु बन्द अवस्थामा रहेको उनले स्मरण गराए ।

उनले नेताहरूले पैसा दुबईमा पुर्‍याएर राखेको आरोप पनि लगाए । यस्तै देशका केही सीमित व्यवसायीहरुले ३२ खर्ब भन्दा बढी रुपैयाँ चलाइरहेको आरोप प्रसाईँको छ ।

तस्बिरहरु : गौरव पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर