दुर्गा प्रसाईँको महाअभियानबारे राप्रपामा छलफल, लोहनीले दिए यस्तो निर्देशन – Nepal Press

दुर्गा प्रसाईँको महाअभियानबारे राप्रपामा छलफल, लोहनीले दिए यस्तो निर्देशन

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजालाई अघि सारे सुरु गरेको महाअभियानबारे राजावादी पार्टी राप्रपामा छलफल भएको छ । हिजो बसेको राप्रपा निर्देशक समितिको बैठकमा उक्त महाअभियानमा पार्टीले लिने रणनीतिबारे अनौपचारिक सल्लाह भएको थियो ।

यसअघि मेचीपुलमा पूर्वराजपरिवार समेत सहभागी महाअभियान उद्घाटनमा राप्रपाका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । राप्रपाका निर्देशन समितिका सदस्य रामकुमार सुब्बा र प्रवक्ता सगुन सुन्दर लावतीसमेत उक्त कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा केशरबहादुर विष्ट सहितका वक्ताहरूले राप्रपा नेतृत्वमाथि प्रहार गरेका थिए । यसलाई पार्टी नेतृत्वले गम्भीर रूपमा लिएको बुझिएको छ ।

‘राप्रपाका नेता कार्यकर्तालाई नै उपस्थित गराएर राप्रपालाई गाली गरिएको विषयले नेतृत्वलाई गम्भीर बनाएको छ,’ स्रोतले भन्यो ।

मेचीपछि धनगढी महेन्द्रनगर र भैरहवामा भएका कार्यक्रममा राप्रपाका नेताहरू उपस्थित भएनन् । कञ्चनपुरमा भने राप्रपाका केन्द्रीय सदस्य नन्ददेवी जोशी उपस्थित भएका थिए ।

यता काठमाडौंमै केही दिनअघि दुर्गा प्रसाईँको आन्दोलन तयारी बैठकमा राप्रपा कार्यसम्पादन समितिका सदस्य ऋषिबाबु परियार नै सहभागी भएका थिए । यसप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीका प्रमुख नेताहरू पार्टीको नीति विपरीत जहाँसुकै जान नमिल्ने भन्दै स्टाटस लेखेका थिए ।

हिजोको बैठकमा निर्देशक समितिका संयोजक डा। प्रकाशचन्द्र लोहनीले प्रसाईँको आज बानेश्वरमा हुने आन्दोलनमा सहभागी नहुन राप्रपाका केन्द्रीय नेताहरूलाई निर्देशन दिएका छन् । यदि कार्यकर्ताहरू सहभागी भएमा के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

स्रोतले भन्यो, ‘यदि कार्यकर्र्ताहरु सहभागी भए र त्यहाँ कसैले राप्रपाको विरोधमा बोल्यो भने तत्काल होहल्ला गर्न कार्यकर्तालाई लोहनीले निर्देशन दिनुभएको छ ।’

निर्देशन समितिले यो विषयमा कुनै औपचारिक निर्णय गरेको छैन । पूर्वराजालाई नै प्रसाईँले अघि सारिरहेकाले राप्रपालाई निर्णय लिन अप्ठेरो परेको हो । तर, पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसार्ईंको सार्वजनिक रुपमै वाकयुद्ध चलिरहेको छ । लिङ्देन केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रसाईँमाथि खनिएका थिए । उनले बैंकहरूसँग लिएको अर्बौंको ऋण नतिर्न प्रसाईँले विभिन्न फन्डा गरिरहेको आरोप लगाएका छन् । प्रसाईँले पनि सार्वजनिक कार्यक्रममै लिङ्देनको प्रतिवाद गरेका छन् ।

प्रसाईँको महाअभियानले पूर्वराजसंस्थासँग राप्रपाको सम्बन्धमा नै असर गर्न थालेको छ । पूर्वराजा स्वयम् सहभागी कार्यक्रममा राप्रपाको विरोध गरिनु र लिङ्देन स्वयम् प्रसाईँको आलोचनामा उत्रिनुले यसैको संकेत गर्छ । यसलाई बुझेर राप्रपाबाट फुटेर बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने दाउ छोप्न खोजेका छन् । उनले दुर्गा प्रसाईँको अभियानप्रति ऐक्यबद्धता मात्र होइन, यसलाई सघाउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । पछिल्ला समयमा थापा पूर्व राजसंस्थासँग दूरी घटाउन खोजिरहेका छन् ।

दुर्गा प्रसाईँको आन्दोलन आज नयाँ बानेश्वरमा प्रेम आचार्यले आत्मदाह गरेकै स्थानबाट सुरु हुँदैछ । उनले आजको कार्यक्रममा पनि पूर्वराजालाई उपस्थित गराउने दाबी गरेका थिए । तर, पूर्वराजारानी अहिले भारत भ्रमणमा गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर